२०८३, कार्तिक ११ गते बुधबार

फलफूलखेतीतर्फ किसानको आकर्षण

फलफूलखेतीतर्फ किसानको आकर्षण


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • फलफूलखेतीतर्फ किसानको आकर्षण


    महोत्तरी । अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलफूलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् ।

    लिची, रुख कटहर, सपातो र केरासहितका फलफूल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताए ।

    उनले भने, “करिब दस कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।”

    कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिबास–५ चेरुका राजन पौडेल बताउँछन् । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलले जानकारी दिए ।

    “मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनी दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भने, “फूल्ने बेलामै दामकाम भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आफूले पनि एक बिघामा आँपखेती बढाउन लागेको उनले बताए ।

    आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको र खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    पछिल्लो वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउँछन् ।

    यिनमा स्वर्णरेखा, मल्लिका र आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनी फल्ने र सुगन्धितसँगै मिठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको महतोको अनुभव छ ।

    यी बाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँप किसानको रोजाइमा छन् ।

    फलफूलखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोग गर्नुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानलाई सहुलियतमा फलफूलका बिरुवा र प्राविधिक सल्लाह दिँदै आएको छ ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार