झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।
कोशी प्रदेश सरकार, कन्काई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु. दुई करोड ३० लाखको लागतमा कन्काई नदिको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।
विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु. दुई करोड, नगरपालिकाको रु. वीस लाख र विभिन्न दाताको तर्फबाट रु. दस लाख लगानी रहेको छ ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कन्काई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए ।
“शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उनले भने, “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए ।
गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले जानकारी दिए ।
विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए ।
दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले जानकारी गराए ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा ल्याएको बजेटमा कन्काई नदिमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु. दुई करोड बजेट विनियोजन गरेका थिए ।
निर्माण सम्पन्न भएसँगै कन्काई नदिमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ ।
वि.सं. २०६७ मा स्थापना भएको कन्काई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ ।
विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छ भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।

