२०८३, कार्तिक १२ गते बिहीबार

ड्रागन फ्रुटखेतीप्रति आकर्षण बढ्दै

ड्रागन फ्रुटखेतीप्रति आकर्षण बढ्दै


  • मेरोभ्यूज
  • आश्विन ५, २०८२ आइतबार

  • ड्रागन फ्रुटखेतीप्रति आकर्षण बढ्दै

     

    चौतारा । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकोले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् ।

    सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकोले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।

    जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागन फ्रुटखेती शुरू गरेको छ ।

    सात रोपनी जमिनमा लगाएको ड्रागन फ्रुटले अहिले उत्पादन दिन थालेपछि उनले आम्दानीसमेत गर्न थालेको हो ।

    मैनालीले वर्षमा दुई पटक बजारमा यो फल बिक्री गर्छन् । उनले खेतबाट प्रतिकिलो तीन सय ५० देखि चार सय रूपैयाँसम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको उनी बताउँछन् ।

    वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उनी परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताए ।

    बाँझो जमिनलाई फल्ने बनाउने उनको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिङ्गो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो ।

    दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मैनालीको भनाइ छ । उनले भने, “यो खेती केवल व्यावसायिकरूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ ।”

    त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको करिब पाँच रोपनी जग्गामा ड्रागन फ्रुटको खेती छ । यहाँ करिब चार सय बिरुवा रोपिएका छन् ।

    अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागन फ्रुट फल उत्पादन भइरहेको छ । उनले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरू बगानमै आउँछन् । ज्येष्ठदेखि कात्तिकसम्ममा दुई पटक फल बेचेर आम्दानी गर्दै आएको उनी बताउँछन् ।

    खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागन फ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो ।

    बजारमा ड्रागन फ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागन फ्रुट भित्र्याएर खेती गरेका थिए ।

    पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ‘ड्रागन फ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ । एक पटक लगाएको बिरुवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकोले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ ।

    कृषि प्राविधिकहरूका अनुसार ड्रागन फ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ । यो खेती एक पटक लगाएपछि १५/२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकोले कृषकहरूका लागि लाभदायक विकल्प हो ।


    प्रकाशित : आइतबार, आश्विन ५ २०८२१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार