२०८३, कार्तिक १२ गते बिहीबार

सेवा निवृत्तिपछि ड्रागन खेतीमा

सेवा निवृत्तिपछि ड्रागन खेतीमा


  • मेरोभ्यूज
  • आश्विन ७, २०८२ मंगलबार

  • सेवा निवृत्तिपछि ड्रागन खेतीमा

     

    कास्की । साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागेको छ । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उनी व्यवसायिक ड्रागन खेतीमा लागेको हो ।

    सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण भएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौँदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गरेको छ ।

    जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उनले बताए ।

    पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उनले भने, “राम्रो उत्पादन दिएपछि आफ्नो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती शुरू गर्ने प्रेरणाको श्रोत हो ।”

    समुद्री सतहदेखि एक सय एक सय मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो दस रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहेका कृषक त्रिपाठी बताउँछन् ।

    उनले भने, “२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फ्रुटस)फर्म दर्ता गरेर शुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन शुरू गरेको हो ।”

    यस वर्ष उत्पादन राम्रो भएको छ, आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए । उत्पादित फल फर्मबाटै प्रतिकेजी रु. पाच सयका दरले बिक्री हुने गरेको छ ।

    खरिदका लागि ग्राहक फर्मै आउँछन् आफै टिप्नु हुन्छ र तौलेर लैजानले गरेको बताउँदै त्रिपाठी भन्छन् उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न शहरलगायत अमेरिका र भारतमा समेत पठाएको उनको भनाइ छ ।

    उनले फर्म शुरू गर्नुभन्दा पहिलो एक हजार छ सय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाए ।

    “उत्पादित फल बिक्री हुँदैनकी भन्नु पर्दै ड्रागनका पारखी फर्मै आउँछन्” उनले भने, बजारको माग अनुसारको फल पुर्याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागन रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ ।

    त्रिपाठीले भने, फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१/०८२ मा चार लाख ७६ हजार नौ सय ८५ रुपैया बरावरको आर्थिक एवं प्राविधिक सहयोग प्राप्त भएको थियो ।

    पक्की पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिंउदको समयमा पर्ने असिनाबाट वोट र फल जोगाउनका लागि उनले जाली राख्ने फ्रेमसमेत निर्माण गरेको छ ।

    फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किए वोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् । देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उनको सुझाव रहेको छ ।

    जग्गा बाँझो नराखौ भन्ने अभियानमा जुटेका त्रिपाठीले ड्रागनको फल मात्र नभइ विरुवासमेत बिक्री गर्दै आएको छ । एउटा विरुवा रु. दुई सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आएको उनले थपे, फुर्केटारी ड्रागन फर्मका विरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन् । विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

    फर्ममा एउटा फलको तौल चार सय ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उनले सरकारी सेवाबाट निभृत्तिभरण भइसकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताए । फर्ममा दैनिक दुइदेखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।

    पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेम्जामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएको बताए ।

    फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उनको भनाइ रहेको छ ।

    पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको जानकारी दिए ।

    बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बि थ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने कृषि विज्ञको धारणा छ ।


    प्रकाशित : मंगलबार, आश्विन ७ २०८२०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार