२०८३, कार्तिक १२ गते बिहीबार

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला


  • मेरोभ्यूज
  • आश्विन ११, २०८२ शनिबार

  • गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

     

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन् ।

    ती मध्येकी एक छन्, पविना माझी । उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गरिरहेको थियो ।

    पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको माझीले बताइन् ।

    पविनाजस्तै यहाँका धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सिपबाट आम्दानी गरिरहेको छ । पुर्ख्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सिप सिकेपछि जीवनयापनमा सहज भएको स्थानीय सोममाया माझीले बताइन् ।

    खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा रु. दस हजार कमाइ हुने गरेको उनले सुनाइन् ।

    नगरपालिका वडा नं. ११ अध्यक्ष रोशन गिरीले यहाँका ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताए ।

    उनले यसरी बुनिएका गलैँचा राजधानी काठमाडौँ लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको जानकारी दिए ।

    “हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त हुन्छन् । महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन् । यसले आम्दानीको आधार बनेको छ”, वडाध्यक्ष गिरीले भने, “महिलाको सिप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेका छौँ । यो वर्ष थप ४० थान तान वितरण गरिएको छ । यसलाई निरन्तरता दिन्छौँ ।”

    माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् । यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन् ।

    नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सिपलाई विशेष जोड दिएको बताए ।

    युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सिपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, आश्विन ११ २०८२११:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार