कास्की । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार पाच सय सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ ।
कालिखोलादेखि काँहुकोटसम्म एक कि.मि. आठ सय मिटरको पदमार्ग निर्माण वि.सं. २०८० वैशाखदेखि शुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए ।
उनका अनुसार फुट ट्रय्याकका लागि चालू आ.व.मा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
“पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ ।
स्थानीय विशेषता झल्कने र पहिचानसहितको अर्ग्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अर्ग्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,” नगर प्रमुख आचार्यले भने ।
निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्रामस्थल हुनेछन् भने दस स्थानमा ‘भ्यू-पोइन्ट’ निर्माण हुनेछ । पदमार्ग दस फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए ।
पोखराको प्राकृतिक ‘भ्यू-पोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ ।
‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियानअन्तर्गत सो ट्रेलको दायाँबायाँ करिव चार सय फलफूलका बिरुवासमेत रोपिएको छ ।
पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियानअन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।

