पाल्पा । रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु. पाँच लाख बढी आम्दानी गर्ने योजनामा छन् ।
वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थालेकी उनले भदौको पहिलो सातासम्म रु. ६६ हजारको तीन सय केजी खुर्सानी बिक्री गरिसकेको छ । अझै रु. चार लाख ५० हजारको अकबरे फलेको उनको अनुमान छ ।
उनले पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएको छ । उनलाई श्रीमान् सन्दीप पौडेलले समेत साथ दिँदै आएको छ । पौडेलले भनिन्, “मेरो श्रीमान् तीन वर्ष मलेसिया र डेढ वर्ष दुबईमा बसेर गाउँमै केही गर्नुपर्छ भनेर आए, अहिले दुवै जना मिलेर खुर्सानी खेती गर्दै आएका छौँ ।”
उनले आफूहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन)मार्फत कृषि सामग्रीसँगै प्रविधि सहयोग भएको र बजारीकरणका लागि सहकारीबाट ठूलो सहयोग मिलेको बताइन् ।
देउरालीकै बाबुराम अधिकारीले पनि तीन वर्षदेखि कृषि व्यवसायी गर्दै आएको छ । उनले यस वर्ष भदौको पहिलो सातासम्ममा रु. ८८ हजारको चार क्विन्टल खुर्सानी बिक्री गरिसकेको छ ।
लामो समय भारत बसेर फर्किएका अधिकारीले गत वर्ष कृषि उपजबाटै रु. पाँच लाख आम्दानी गर्न सफल भएको थियो । यस वर्ष खुर्सानी बिक्रीबाट रु. पाँच लाख बढी आम्दानी गर्ने योजना रहेको उनको भनाइ छ ।
मिहेनत गरे गाउँमै वार्षिक पाँच/सात लाख रुपैयाँ कमाउन सकिने अधिकारीले बताए । उनले भने, “पैसा कमाउनकै लागि विदेश नै जानु पर्दैन । मैले पनि भारतमा लामो समय बिताएँ, त्यहाँ वर्षमा दुई लाख जति कमाइ भए पनि खासै बचत हुँदैनथ्यो । तर अहिले घरमै बसेर वार्षिक रु. चार/पाँच लाख सजिलै कमाइरहेको छु ।” उनले अघिल्लो दुई वर्षभन्दा डेढ गुणाले भाउ आएको बताए ।
“भाउ पाइएको मात्र छैन, बिक्री गर्नसमेत सहज भएको छ,” उनले भने, “भाउ पहिल्यै निर्धारण भएकोले पनि बिक्री गर्न सजिलो भएको छ ।”
देउरालीकै सुनिल विकले पनि विगत तीन वर्षदेखि खुर्सानी खेती गर्दै आएको छ । उनले गत वर्ष रु. पाँच लाखको खुर्सानी बिक्री गरेको बताए । विकले यस वर्ष चार लाखको खुर्सानी बिक्री गर्ने लक्ष्य लिएको छ । उनले अहिलेसम्म दुई लाखको खुर्सानी बिक्री गरिसकेको बताए ।
पौडेल, अधिकारी र विक मात्र होइन, यस वडाका ९७ कृषकले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
यस वडाबाट दुई महिनामा नौ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा चार हजार चार सय ५७ के.जी. अर्थात् (४४ क्विन्टल ५७ के.जी.) खुर्सानी निकासी भएको हो ।
यहाँका किसानले उत्पादन गरेको खुर्सानी देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन गरी उक्त परिमाणमा खुर्सानी बाहिर पठाएको छ ।
साउन महिनामा यहाँका किसानले तीन हजार तीन सय ९० किलो र भदौ महिनाको पहिलो साता एक हजार ६७ किलो अकबरे उत्पादन गरेका छन् ।
उक्त उत्पादित खुर्सानी बाहिर निकासी गरिसकिएको सहकारीका व्यवस्थापक खिमबहादुर घर्तीले जानकारी दिए ।
उनका अनुसार यो वर्ष पाच सय क्विन्टल खुर्सानी निकासी गर्ने लक्ष्य राखिएको छ । यसअघि हार्थोक सङ्कलन केन्द्रबाट अकबरे निकासी हुँदै आए पनि गत वर्षदेखि किसानले यही सहकारीमार्फत बिक्री गर्दै आएका छन् ।
यहाँ गत वर्ष तीन हजार चार सय किलो खुर्सानी निकासी गरिएको सहकारीका व्यवस्थापक घर्तीले बताए ।
जोनले खुर्सानी खेतीका लागि अनुदान, बीउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण, पोखरी निर्माण र प्राविधिक सहयोग गर्दै आएको र सहकारीले उत्पादनको बजारीकरण गरिदिएपछि यहाँका किसानहरु अकबरे खुर्सानीतर्फ आकर्षित भएका हुन् ।
खुर्सानीबाट यहाँका किसानले एक लाखदेखि दस लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
जोनले चाक्लबन्दी खुर्सानी खेतीका लागि यहाँका किसानलाई अनुदानमा कृषि सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । किसानलाई खुर्सानीमा आत्मनिर्भर बनाइ आर्थिकरुपमा सक्षम बनाउने उद्देश्यले नौ लाख ९९ हजार सात सय ७७ रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गणेशप्रसाद यादवले जानकारी दिए ।
उनले भने, “किसानलाई प्रोत्साहन गरेर शुरुवात गरेको अकबरे अहिले व्यावसायिक बनेको छ । यहाँका कृषकहरुले उत्साहजनकरुपमा खुर्सानी उत्पादन गर्दै आएका छन् ।”
विगत तीन वर्षदेखि यहाँको पालिकाभरि नै जोनमार्फत किसानलाई सहयोग गरिँदै आएको प्रमुख यादवले बताए ।
कार्यालयले यहाँका व्यावसायिक कृषकहरुलाई घरमै गइ प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।
शुरुवातका दिनमा प्राविधिक ज्ञानको अभावका कारण यहाँका कृषकले कम उत्पादन गरे पनि अहिले बेला-बेलामा प्राविधिक सरसल्लाह दिने गरेका कारण उत्पादनमा समेत वृद्धि हुँदै गएको जोनका कृषि अधिकृत सरोज पोखरेलले बताए । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।
अधिकृत पोखरेलले भने, “पहिले–पहिले कषकहरुले खुला जग्गामै खुर्सानीखेती गर्ने प्रावधान थियो, जसले गर्दा झार र किराले ग्रस्त भएर सोचेजस्तो उत्पादन हुन सकेको थिएन, त्यस्तो समस्यालाई सम्बोधन गर्ने गरी हामीले यसपाली सबै कृषकलाई मल्चिङसहित खुर्सानी लगाउन प्रेरित गर्यौ, जसले गर्दा झार र रोगबाट केही हदसम्म खेती जोगाउन सक्दा कृषकले उत्पादन बढाउन सकेको छ ।”
पहिले खुर्सानी लगाउँदा कति दूरीमा लगाउने, के कस्ता विषादी, शूक्ष्म खाद्य तत्वहरु राख्ने भन्ने कुराको कृषकलाई ज्ञान नहुँदा पनि उत्पादन वृद्धि हुन नसकेको अवस्थामा जोनमार्फत खेतबारीमै पुगेर प्राविधिक ज्ञान दिएका कारण पनि यस वर्ष अझ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
कृषकहरुले उत्पादन गरेको खुर्सानीको बजारीकरणमा समेत कुनै पनि समस्या नरहेको जोनका सूचना अधिकारी भीमसेन नेपालले बताए ।
उनले भने, “यहाँका कृषकहरुलाई बजारीकरणको कुनै समस्या छैन, यहाँको सहकारीमार्फत कृषि उपज बजारसम्म पुग्छ ।”
बजारीकरण नहुँदा पहिले अत्यन्तै समस्या भोगेका कषकहरुले अहिले सहकारीमार्फत बजारीकरण हुन थालेपछि उत्साहका साथ व्यावसायिक खेतीमा लागेको सङ्कलन केन्द्र तथा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जोनले अनुदान दिएसँगै खेतीको बेलाबेलामा अनुगमन गरेका कारण कृषकहरु खुर्सानीतर्फ आकर्षित भएको उनले उल्लेख गरे ।
कृषकले उत्पादन गरेको खुर्सानी यशोदा फुड कम्पनीसँग सम्झौता गरी पठाउने गरेको सहकारीका सचिव भीमलाल अधिकारीले बताए ।
उनले भने, “कृषकले सहकारीसम्म कृषि उपज बोकेर ल्याउँछन् । बजारका लागि हामी तत्कालै कम्पनीमा पठाइदिहाल्छौँ । बजारको त्यस्तो कुनै समस्या छैन ।”
देउरालीमा मात्र दुई सय रोपनीमा खुर्सानीखेती हुँदै आएको छ । कृषकले अहिले प्रतिकिलो रु. दुई सय वीसमा सहकारीमा खुर्सानी बिक्री गर्दै आएका छन् । वडा कार्यालयले समेत कृषिलाई जोड दिँदै आएको वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए ।
उनले भने, “हामीले यस वर्ष वडामा कृषि कार्यक्रमका लागि रु. नौ लाख बजेट विनियोजन गरेका छौँ, कृषकहरुको मागका आधारमा कार्यक्रम गर्नेछौँ ।”
जोन र वडा कार्यालयबीच सल्लाह गरेर कस्ले कुन क्षेत्रमा के काम गर्ने भनी कार्यक्रम बनाइने अध्यक्ष पोखरेलको भनाइ छ ।
उनले भने, “अहिले जोनले खुर्सानीमा काम गर्दै आएको छ, हामीले त्योभन्दा फरक क्षेत्रमा काम गर्नेछौँ ।”
देउरालीमा मात्रै होइन, रिब्दीकोट गाउँपालिकाका आठवटै वडाका एक हजार पाच सय किसानले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
विगतमा अदुवाले चर्चा पाउने रिब्दीकोटका किसानले अहिले खुर्सानीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
रिब्दीकोट गाउँपालिकामा अकबरेबाट छदेखि दस करोडसम्म नगद भित्रिने गरेको बताइएको छ ।
खुर्सानी विस्तारका लागि गाउँपालिकाले समेत कृषकलाई सहयोग गर्दै आएको छ । यहाँका कृषकलाई थप उचित बीउको प्रबन्ध, सिँचाइको सुविधा, प्राविधिक ज्ञान दिने हो भने अकबरे खेती थप विस्तार हुने देखिन्छ ।

