२०८३, कार्तिक १२ गते बिहीबार

पुल बनेपछि मोहनपुरवासीलाई राहत

पुल बनेपछि मोहनपुरवासीलाई राहत


  • मेरोभ्यूज
  • आश्विन १४, २०८२ मंगलबार

  • पुल बनेपछि मोहनपुरवासीलाई राहत

     

    कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं. ४ भितरीया सिमानामा रहेको मोहना नदिमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ ।

    मोहना नदि पारी मोहनपुर र वारी भितरीया गाउँ छ । मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ ।

    वि.सं. २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोर-दोहोर गर्नुपर्ने बाध्यता थियो ।

    झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोर-दोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए ।

    “यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो । जोखिम मोलेर नदि तर्नुपर्ने बाध्यता थियो”, उनले भने, “यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ ।”

    पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदिमाथि रुखका चाक्ला र अन्य समय काठको डुङ्गाबाट आवत-जावत गर्थे । यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुङ्गासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुङ्गाको साहारामा नदी तर्दै आइएको भलमन्सा डङ्गौराले स्मरण गरे ।

    पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ । पुल निर्माणपछि आवत-जावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए ।

    पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकोमा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए ।

    “स्थानीयलाई साँझ, बिहान बजारबाट समान लिन जाँदा नदी वारपार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्दथ्यो । हाल पुल सञ्चालनपश्चात् आनन्दले आवत-जावत गर्न सकिएको छ”, उनले भने ।

    सङ्घीय सरकारको शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनको रु. तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो ।

    उक्त पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँकेसँग वि.सं. २०७८ असोज १३ गते सम्झौता भएकोमा गत वर्ष माघ १० गते पुल निर्माण सम्पन्न भएको थियो ।


    प्रकाशित : मंगलबार, आश्विन १४ २०८२०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार