भोजपुर । सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताएको छ ।
वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म शुरु गरेका किसान नेपालले वार्षिक रु. १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए ।
बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उजको गुनासो छ ।
बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए ।
“त्यसैले बाँदरले नखाने ड्रागन फ्रुट, कागती, टिम्मुर र मेकाडियानटजस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,” उनले भने ।
आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उनको धारणा छ ।
बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ ।

