२०८३, कार्तिक ११ गते बुधबार

कोप्रे झरना

कोप्रे झरना


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • कोप्रे झरना

     

    म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ ।

    गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्षअघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

    बेनी बजारबाट दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा कोप्रे झरना अवस्थित छ ।

    सार्वजनिक बिदाका दिन बेनीका युवा-युवती, किशोर-किशोरीदेखि प्रौढहरू कोप्रे झरनामा पुगेर रमाउने गर्छन् ।

    शान्त र एकान्त वातावरणमा छङ-छङ गर्दै झर्ने झरनाको फेदीमा बसेर रमाइलो महशुस गर्न पाइने कोप्रे झरना घुम्न गएकी बेनीकी प्रिती छन्त्यालले अनुभव सुनाइन् ।

    “व्यस्त दैनिकी र शहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा आनन्द महशुस भयो”, उनले भनिन्, “बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ ।”

    हिउँदमा सानो हुने कोप्रे झरना बर्खामा ठूलो हुने गर्छ । भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ ।

    करिब एक सय ५० मिटर अग्लो झरनाको फेदीबाट नजिकै अवलोकन गर्न सकिन्छ । घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ ।

    पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द हुने बेनीका आनन्द पुनले बताए ।

    कोप्रे झरनामा भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा टिकटक, रिल्स र स्टोरी बनाउने गर्छन् ।

    बर्खायाममा कोप्रे झरनामा दिनभरजसो चहल-पहल हुने बेनी नगरपालिका–२ का बासिन्दा नारायणबहादुर कार्कीले बताए ।

    कार्कीले झरना परिसरमा व्यक्तिगत लगानीमा चौतारी बनाएर वर र पिपलको रुख रोपेको छ ।

    बेनी नगरपालिकाले रु. दुई लाख ५० हजार खर्चेर आश्रयस्थल, पार्किङस्थल र बस्नका लागि फलामको बेञ्च राखेको छ ।

    थप पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु. दुई लाख विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए ।

    गण्डकी प्रदेश सरकारमार्फत बेनीको हाडेभिरबाट बगरफाँट कोप्रे झरनाको नजिकै दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको क्रममा छ ।

    सडक सहज र थप पूर्वाधारका साथै प्रचार-प्रसार गरी कोप्रे झरनालाई बर्खायामको गन्तव्य बनाउन जोड दिएको नगरप्रमुख केसीले जानकारी दिए ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०८:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार