झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशःखुल्दै थिए ।
तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठक-ठक, टक-टक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटिरहेका थिए ।
शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण–जीवनसाथीजस्तै बनेको आरन, हथौँडा र फलामसँगको नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो ।
बाल्यकालदेखि नै आरन–हथौँडा देखेर हुर्किएका उनी २०३४ तिर झापाको साविक गोलधाप बजार आए । यहाँ आएपछि उनले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर खुकुरी, बञ्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले ।
“धान रोप्ने बेला किसान हँसिया ‘माग’ गर्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्थ्यो”, बराइली भन्छन् ।
बराइलीका अनुसार शुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् ।
बराइली भन्छन्, “अझै पनि पसलमै दिन बिताउँछु । बिहान पसल सफा गर्छु, फलाम तताउँछु र हातले कुटेर औजार बनाउँछु ।”
जीवनमा धेरै उतारचढाव देखेका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन् । दुई छोरी विवाह गरेर आ-आफ्नो घरमा छन् । एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन् । सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ ।
“मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो”, बराइली भावुक हुँदै भन्छन् । तर उनीसँगै यो सिप हराउने डर पनि बढेको छ ।
“छोरानाति कसैले सिक्न चाहेनन्, सबैको सपना शहर वा विदेशमै छ । अब मेरोपछि यो काम सकिने भयो,” उनले दुःखेसो पोखे ।
बराइली मात्र होइन, देशभर परम्परागत सिप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् ।
बढैया, शिल्पी, कामी वा लोहारसबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ ।
तर, बराइलीजस्ता सिपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् ।
जीवनभर पुर्ख्यौली पेसालाई अँगालेका उनले परिवार पाल्न सके, समाजलाई योगदान दिए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ ।
बराइली भन्छन्, “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सिप बाँचिराखोस् भन्ने मेरो चाहना हो ।”
उनको चाहना केवल व्यक्तिगत इच्छामात्र होइन, मौलिक सिप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो ।

