स्याङ्जा । यहाँका एक युवाले व्यावसायिकरूपमा कागती खेती गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका-५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिकरूपमा कागती खेती गरी मनग्य आम्दानी लिन थालेको हो ।
वि.सं. २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागती खेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेको हो ।
गल्याङ नगरपालिका-५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएको थियो ।
कोरोनाको समयमा घर बाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागती खेती गर्ने योजना बनाएर काम शुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ ।
“बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ”, उनले भने, “त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।”
खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलो पटक व्यावसायिकरूपमा थालेको कागती खेती आज नमूनाका रूपमा रहेको छ ।
कागती खेती सम्बन्धी प्राविधिक ज्ञान नभएता पनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए ।
“एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर भन्दा बढी हुँदै गएको छ ।”
झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागती खेती गरेका रेग्मीले गत वर्ष मात्र झण्डै रु. ६० हजारको कागती बिक्री गरेका थिए ।
यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी रु. दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएको छ ।
“यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन”, उनले भने, “कागती व्यापारीलाई नभइ सिधैँ होटलमा बिक्री गर्ने भएकोले पनि बजार मूल्य राम्रो पाएको छु ।”
खाली तथा बाँझिएको जमिनमा अझै नयाँ-नयाँ बोट थप्दै जाने योजनामा उनी छन् ।
गाउँमा व्यावसायिकरूपमा उनले कागती खेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिकरूपमा अगाडि बढाउने तयारीमा छन् ।

