२०८३, कार्तिक १३ गते शुक्रबार

महिलाको सिपलाई बजारसँग जोड्दै ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

महिलाको सिपलाई बजारसँग जोड्दै ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’


  • मेरोभ्यूज
  • आश्विन १९, २०८२ आइतबार

  • महिलाको सिपलाई बजारसँग जोड्दै ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’


    विराटनगर । विराटनगरको सहिद रङ्गशाला नजिक सानो घर जहाँ भिडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सिप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढङ्गले सजाएर राखिएका छन् ।

    उक्त कोठामा त्यस्ता सामग्री मात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महशुस हुन्छ ।

    त्यो हो ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ जुन महिला उद्यमी सङ्घ नेपाल मोरङ च्याप्टरले २०८० साल भदौदेखि सञ्चालनमा ल्याएको हो ।

    छोटो समयमै यस ग्यालरीले महिलाको हातको सिपलाई बजारसँग जोड्दै आर्थिक सशक्तीकरण र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम खोलिदिएको छ ।

    सङ्घकी मोरङ च्याप्टर कोशी प्रदेश अध्यक्ष कृति श्रेष्ठ उपाध्यायलाई शुरुमा लाग्यो ‘महिला उद्यमीका उत्पादनहरू मेला मात्र कुर्दा अवसर सीमित हुन्छ । निरन्तर प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आवश्यक छ’, यही सोचलाई मूर्तरुप दिने क्रममा ग्यालरी स्थापना भयो ।

    उक्त ग्यालरीमा प्रवेश गर्दा हस्तकला, ‘पुनःप्रयोग’ गरिएका सामग्री, घरेलु उत्पादन, सजावटी सामानदेखि स्थानीय स्वाद बोकेका खानेकुरासम्म विविधता भेटिन्छन् ।

    शुरुमा मोरङकै सदस्य उद्यमीका सामग्री सोकेसमा राखेर शुरु गरिएको उक्त ग्यालरीमा अहिले कोशी प्रदेशका अन्य जिल्ला र अन्य प्रदेशका महिलाका उत्पादनले पनि यहाँ स्थान पाउन थालेका छन् । यसरी ग्यालरीले ‘एक्सचेन्ज र मार्केटिङ’लाई नयाँ ढङ्गले व्याख्या गरिरहेको छ ।

    उक्त ग्यालरीमा मोरङका मात्र नभइ कोशी टप्पु क्षेत्र, बाँके पश्चिमाञ्चल, भक्तपुर, काठमाडौँ, धनकुटालगायत विभिन्न स्थानका महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राखिएका छन् ।

    ग्यालरीमा ४० देखि ५० प्रकारका उत्पादन राखिएका छन् । तीमध्ये धेरैजसो उत्पादन मोरङमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् ।

    ग्यालरीको उद्देश्य प्रत्यक्ष बिक्रीमा मात्र केन्द्रित नभइ उत्पादनलाई ‘सोकेस’ गर्दै प्रवर्द्धन गर्ने हो । मागअनुसार वस्तु बिक्री हुने र ‘माग’ लिएर वितरण गर्ने व्यवस्थासमेत गरिएको सङ्घले जनाएको छ ।

    “ग्यालरी केवल ‘डिस्प्ले हल’ होइन, उद्यमीका लागि आर्थिक अवसरको खिड्की पनि हो”, मोरड च्याप्टर अध्यक्ष उपाध्याय भन्छिन्, “यहाँ उत्पादन राख्नेदेखि प्रत्यक्ष बिक्री, अर्डर लिनेसम्मको सुविधा छ । शुरुमा उद्यमी आफैँ सामान ल्याएर राख्थे, अहिले सङ्घले उनीहरूको उत्पादन खरिद गरेर राख्ने अभ्यास शुरु गरेको छ । यसले उद्यमीलाई समयमै भुक्तानी हुने र वित्तीय आत्मविश्वास बढ्ने अवसर दिएको छ ।”

    उद्यमशीलता भनेको पसल खोलेर बस्न सक्नेहरूको मात्र कुरा होइन विद्यार्थी, स्टार्टअपदेखि सानाठूला उद्यमी सबैलाई हामीले यहाँ स्थान दिएको उनी बताउँछिन् ।

    विराटनगर आउने आन्तरिक तथा भारतीय पर्यटकका लागि यो ग्यालरी कोशेली किन्ने नयाँ ठेगाना बन्दै गएको छ । पर्यटकले यहाँबाट सानो हस्तकला, ‘रिसाइकल प्रोडक्ट’ वा परम्परागत शैलीका सामग्री किनेर लैजाने क्रम बढ्दो छ ।

    यसले स्थानीय उत्पादनलाई नयाँ बजार त दिएको छ नै, पर्यटनलाई पनि अझ आकर्षक बनाएको छ ।

    साथै, विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि ग्यालरी ‘लाइभ केस स्टडी’ बनेको छ, जहाँ उनीहरूले ‘सस्टेनेवल’ उत्पादन र महिलाको उद्यमशीलताबारे प्रत्यक्ष सिकाइ पाउँछन् ।

    विशेष प्राथमिकता भने ग्यालरीले सस्टेनेवल र वातावरणमैत्री उत्पादनलाई दिएको छ । रिसाइकल सामग्री, स्थानीय स्रोतमा आधारित उत्पादन र वातावरणमैत्री वस्तु यहाँ सजिलै भेटिन्छन् । यसले महिला उद्यमशीलतालाई मात्र होइन, हरित अर्थतन्त्र र जलवायु प्रतिरोधी विकासलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ ।

    अध्यक्ष श्रेष्ठ सङ्घले ग्यालरीलाई राष्ट्रियस्तरसम्म विस्तार गर्ने योजना रहेको बताउँछिन् ।

    यो ग्यालरीलाई पर्यटन बोर्ड, हस्तकला महासङ्घ र अन्य संस्थासँग सहकार्य गरेर यसलाई देशभर परिचित बनाउने योजना छ अध्यक्ष श्रेष्ठ भन्छिन्, “यो पूर्वाञ्चलको पहिलो नमूना ग्यालरी हो, यसले महिला उद्यमीलाई मात्र होइन, सम्पूर्ण उद्यमशीलता क्षेत्रलाई सबल बनाउनेछ ।”

    केवल दुई वर्षको अवधिमा ग्यालरीले महिला उद्यमशीलता, कला, पर्यटन र शिक्षालाई एकै ‘प्लेटफर्म’मा जोड्न सफल भएको महिला उद्यमीहरू बताउँछन् ।

    उक्त ग्यालरीमा आउने आगन्तुकले उत्पादन मात्र देख्दैनन्, महिलाको आत्मविश्वास, सिर्जनशीलता र भविष्यप्रतिको दृढतासमेत देखिने भएकोले यो ग्यालरी केवल पसल नभएर, महिला उद्यमशीलताको जीवित गाथा बनेको उद्यमीहरूको धारणा छ ।


    प्रकाशित : आइतबार, आश्विन १९ २०८२१०:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार