२०८३, कार्तिक १३ गते शुक्रबार

फूलखेतीबाट आत्मनिर्भर बन्दै

फूलखेतीबाट आत्मनिर्भर बन्दै


  • मेरोभ्यूज
  • आश्विन १९, २०८२ आइतबार

  • फूलखेतीबाट आत्मनिर्भर बन्दै

     

    चितवन । यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको व्यावसायिक खेतीमा जुटेको छ ।

    भरतपुर महानगरपालिका-७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती शुरु गरेको हो ।

    यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती शुरु गरेको हो ।

    उनले भने, “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ ।”

    विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उनले बताए । “बुबाले सयपत्री फूलको व्यापार गर्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उनले भने, “कोरोना भन्दा पहिला काठमाडौँमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ । कोरोनाकालमा घर आएँ । सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ ।”

    बजारमा कामिनी फूल रु. ८० देखि एक सय र जिप्सी रु. दुई हजारसम्म पर्ने गर्दछ । कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ ।

    शुरुवाती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिकरूपमा विस्तार गरेको श्रेष्ठले बताए ।

    हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उनले बताए ।

    व्यवसायलाई अझै बढाउने तयारीमा रहेका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिएको छ ।

    उनले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाएको छ ।

    “पहिले सयपत्री फूलको माला रु. दसमा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो ।

    अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु”, शुरुवातका दिन सम्झँदै उनले भने, “रातभरि माला उनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो । अहिले फूलको प्रयोग बढ्दै गएको छ ।”

    उनी हाल पुष्प व्यवसायबाट सफलता हाँसिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बनेको छ ।


    प्रकाशित : आइतबार, आश्विन १९ २०८२१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार