२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षण र बुटिक पेसापछि ‘ड्रागन फ्रुट’मा आकर्षित गौली

शिक्षण र बुटिक पेसापछि ‘ड्रागन फ्रुट’मा आकर्षित गौली


  • मेरोभ्यूज
  • आश्विन २०, २०८२ सोमबार

  • शिक्षण र बुटिक पेसापछि ‘ड्रागन फ्रुट’मा आकर्षित गौली

     

    तनहुँ । तनहुँको व्यास नगरपालिका-२ दमौली निवासी कल्पना गौलीले व्यावसायिकरूपमा सिउँडीफल (ड्रागन फ्रुट) खेती गरेको छ । उनले व्यास नगरपालिका-५ ढोडेनीमा सिउँडीफलको खेती गरेको हो ।

    सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा उनले व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती गरेको हो । नौ रोपनी जग्गा वीस वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले बताइन् ।

    बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु. एक करोड ५० लाख खर्च भएको उनको भनाइ छ ।

    नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ ।

    गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु. वीस लाख आम्दानी भएको थियो ।

    यस पटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु. आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरिन । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

    उनले भनिन, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

    दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाइ छ ।

    उनले भनिन, “बाहिरी जिल्लाबाट आएकोभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्छन् । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”

    ऋषिङ गाउँपालिका-१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ ।

    उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्ड हाउस र बगान अवलोकनका लागि भ्यू-टावर निर्माण गरेको छ ।

    सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरेको गौलीको भनाइ छ ।


    प्रकाशित : सोमबार, आश्विन २० २०८२०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार