पाल्पा । जिल्लाको तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याएको छ । ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान शुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैङ्क सञ्चालनमा ल्याएको हो ।
चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याएको शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिए ।
उनले भने, “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न रगत बैङ्क महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ व्यहोर्नुपरेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”
मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गरे । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिकरूपमा चार हजार पाच सय प्वाइन्ट रगतको आवश्यकता पर्ने उनले उल्लेख गरे ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दिर्घकालीन बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताए ।
ब्लड बैङ्क सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु. ५० लाखमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट रु. दस लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु. पाँच लाख बराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु. पाँच लाख बराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले वि.सं. २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको उक्त अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाबाहिर रहेका पाल्पालीले पनि आर्थिक सहयोग गरेका छन् ।
ब्लड बैङ्क भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट गत वर्ष रु. एक करोड ५० लाख र चालु आर्थिक वर्षमा रु. तीन करोड रकम विनियोजन भएको थियो ।
नियमितरूपमा ब्लड बैङ्क सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रस पाल्पाले विभिन्न व्यक्ति, सङ्घ/संस्थाबाट रु. ६८ लाख सङ्कलन गरेको जनाउँदै रकम सङ्कलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताए ।
ब्लड बैङ्क सञ्चालन भएपछि आइपर्ने चुनौती र कठिनाइलाई समाधान गर्न शाखाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले जानकारी दिए ।
तत्कालका लागि अस्थायीरूपमा शाखा कार्यालयमा ब्लड बैङ्क सञ्चालन गरेको बताउँदै स्थायीरूपमा तानसेन नगरपालिका भूसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले बताए ।
ब्लड बैङ्क शुभारम्भ कार्यक्रममा पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको महत्त्व र सामाजिक प्रभावबारे सचेतना फैलाउँदै समुदायलाई नियमित रक्तदाता बन्न प्रेरित गर्न जिल्लाका सञ्चारमाध्यम तथा पत्रकार सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।
रक्तदानले केवल जीवन जोगाउने मात्र नभइ सामाजिक एकता र सहकार्यलाई बलियो बनाउने उनको भनाइ छ ।
बैङ्क सञ्चालनमा आएसँगै पाल्पामा अब आकस्मिक अवस्थामा रगतको लागि दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य हुने, स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने रेडक्रस पाल्पाका स्वास्थ्य संयोजक डा. झपेन्द्र ढकालले विश्वास व्यक्त गरे ।

