बागलुङ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि दस टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु. वीस लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाएको हो ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरेको दूग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
सङ्घको रु. दस लाख र रु. दस लाख पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा दस टन क्षमताको कोल्ड स्टोर बनाएको हो ।
जिल्लाका एक हजार चार सय भन्दा बढी किसानबाट दैनिक तीन हजार पाच सय लिटर दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताए ।
“दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउँदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकै पटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन” गौतमले भने “दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश: बिक्रीका लागि दस टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ तर हामीलाई अनुदानले राहत मिलेको छ ।”
कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रिमा भण्डारण गरिँदै आएको छ ।
अहिले सङ्घले रु. एक हजार पाच सयमा एक के.जि. घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१/०८२ मा किसानबाट रु. आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ ।
दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको सङ्कलन र बजारीकरण गर्दै आएको छ ।

