पाल्पा । डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आएकी छिन् ।
“बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उनले भनिन्, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहान बेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी यही हो ।”
मदन पोखराकी सिता कुमाल पनि सिजनमा तरकारीको भारी बोकेर तानसेन बजार पुग्ने गर्छिन् । उनी बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे गाउँबाट निस्किन्छिन् ।
‘तरकारी आयो तरकारी आयो’ भन्दै टोलटोल पुग्छिन् । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्, “तर, गुजारा गर्न यत्ति गर्नै पर्यो ।”
तानसेन नगरपालिका–११ बाँझाकी ३८ वर्षीया राधिका खाँती पनि दिनहुँजसो घरबाट तरकारी ल्याएर तानसेनस्थित शीतलपाटी नजिकै मन्दिर छेउमा बसेर बिक्री गर्छिन् ।
तरकारी बिक्री गरेर आएको पैसाले सहजरूपमा उनको घरको खर्च चलेको छ ।
“आम्दानीको स्रोत नहुँदा केही समयअघिसम्म घर खर्च चलाउन निकै गाह्रो थियो”, उनले भनिन्, “घर खर्चका लागि श्रीमानको मुख ताक्नु पर्दथ्यो । तरकारी बेच्न थालेपछि श्रीमानबाट घर खर्च माग्नु परेको छैन ।”
खाँती आफैँले फलाएको र केही अन्य किसानले उत्पादन गरेको तरकारी सङ्कलन गरी तानसेनमा ल्याएर बिक्री गर्दै आएकी हुन् ।
खाँतीले तरकारी बेचेर अहिले मासिक लाखौँ रुपैयाँ कमाउन थालेकी छिन् ।
मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उनी बनेकी छिन् ।
लकडाउपछि शीतलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफूल बिक्री गर्दै आएकी हुन् ।
उनले तरकारी बिक्रीबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने जानकारी दिइन् ।
तरकारी बिक्रीबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन, खर्च तथा चार जनाको परिवार चलाउन सहज भएको उनको भनाइ छ ।
खाँतीलाई श्रीमानले तरकारी सङ्कलनमा दैनिक सहयोग गर्दै आएको छ ।
“तरकारी बजारसम्म ल्याएर बेच्न शुरुशुरुमा लाज लागेको थियो”, उनले भनिन्, “अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुञ्जेल यही काम गर्ने हो ।”
राधिकाका अनुसार अर्गानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भिड लाग्ने गर्दछ । प्रायःबजार गर्न आउने र अफिसबाट फर्कनेहरुले तरकारी किनेर लैजाने गरेको उनको भनाइ छ ।
राधिकाले झैँ आफ्नै बारीमा फलेका र अन्य कृषकद्वारा उत्पादित तरकारी बेचेर कुरुङखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आएकी छिन् ।
उनले विगत डेढ दशकदेखि सडक पेटीमा तरकारी बेचेर घर खर्च चलाउँदै आएकी हुन् ।
उन्ले पनि दैनिक रु. एक हजारदेखि रु. तीन हजारसम्म आम्दानी गर्छिन् ।
उनीहरू मात्र होइन बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्छन् ।
तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको महिला बताउँछिन् ।

