बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ ।
आयोजना शुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्तखण्डमा पर्ने दुई सय ९३ कि.मि.मध्ये दुई सय ३४ कि.मि. सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन् भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्माखण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्तखण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।
आयोजना शुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नती, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माणका लागि रु. १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए ।
आर्थिक वर्ष २०६६/०६७ मा शुरु गरिएको आयोजना र २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु. २० अर्ब लागत अनुमान गरिएको उक्त दुई सय ९३ कि.मि. खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ ।
इन्जिनियर बस्यालले हालसम्म एक सय ४५ कि.मि. सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए ।
उक्तखण्डमा पहिलाको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ कि.मि. सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए ।
करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गाखण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्माखण्ड दुई जिल्लामा फैलिएको छ ।
करिडोरको नवलपुरमा ७७ दशमलव ९७ कि.मि., पाल्पामा ८६ दशमलव २७ कि.मि., गुल्मीमा ४१ दशमलव ०६ कि.मि., बागलुङमा ३४ दशमलव ७० कि.मि., स्याङ्जामा दस कि.मि. र पर्वतमा ४३ कि.मि. पर्दछ ।

