२०८३, कार्तिक ११ गते बुधबार

सुनसान ‘कर्लिम गाउँ’

सुनसान ‘कर्लिम गाउँ’


  • मेरोभ्यूज
  • आश्विन २७, २०८२ सोमबार

  • सुनसान ‘कर्लिम गाउँ’

     

    बागलुङ । “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् ।

    उनलाई अचेल एक्लो महशुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर शहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकोमा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई/चार घरमा मात्रै मान्छे भेटिन्छन् ।

    यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउँछन् ।

    “गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पुर्याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ”, उनी भन्छन् ।

    स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताइन् ।

    एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःखसुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उनको भनाइ छ ।

    यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइँ-सराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ ।

    “गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार शहर बजारमा घर बनाएर सारे । धनीमानी सबै शहर बजार र विदेशमा गए । त्यसैले जता हेर्यो त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ”, उनले भनिन् ।

    काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँ-सराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइँ-सराइ गर्ने ठाउँ हो ।

    यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चिवतन बसाइँ सरेका छन् ।

    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सिप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याएको जानकारी दिए ।

    पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँ-सराइ रोक्न नसकिएको उनको भनाइ छ ।

    “गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्रविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ”, अध्यक्ष थापाले भने ।


    प्रकाशित : सोमबार, आश्विन २७ २०८२०७:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार