२०८३, कार्तिक १२ गते बिहीबार

हुम्लामा राष्ट्रिय सडक सञ्जाल

हुम्लामा राष्ट्रिय सडक सञ्जाल


  • मेरोभ्यूज
  • आश्विन २८, २०८२ मंगलबार

  • हुम्लामा राष्ट्रिय सडक सञ्जाल

     

    हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड विस्तारै हराउँदै गएका छन् ।

    जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड हराउन थालेका हुन् ।

    नून, चामल, तेल, खाद्यान्न, लत्ताकपडालगायत दैनिक घरायसी उपभोग्य सामग्री ढुवानी गरेर दुर्गम सदरमुकाम सिमकोटसहित गाउँसम्म पुर्याउने प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड अहिले प्रयोगविहीन बन्न थालेका हुन् ।

    यसअघि स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो ।

    यहाँ वर्षौँसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामग्री ढुवानी गर्न प्रयोग गर्ने खच्चड, घोडा र डोको–नाम्लो विस्तारै लोप हुँदै आएको गाउँका ज्येष्ठ नागरिकको भनाइ छ ।

    हुम्ला औपचारिकरूपमा सडक सञ्जालमा यसै वर्ष मात्र जोडिए पनि अधिकांश गाउँमा भने यसअघि नै सडक पुगिसकेका थिए ।

    सडक पुगे लगत्तै छोटा दूरीका सवारीसाधन सञ्चालन हुन थालेपछि विस्तारै खच्चड विस्थापन हुँदै गएका अदानचुली गाउँपालिका–३ का हर्कदन फडेराले बताए । अहिले खच्चड यातायात इतिहास मात्र बन्दै गएको उनको भनाइ छ ।

    कार, जीप, ट्रक र ट्याक्टर गाउँ-गाउँमा पुग्न थालेपछि मानिसले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका फडेराले सुनाए ।

    सडक निर्माण र यातायातको पहुँच विस्तार भएसँगै कम समय र लागतमा धेरै काम हुने भएकोले खच्चड व्यवसाय विस्तारै लोप हुँदै गएको उनले उल्लेख गरे ।

    फडेराले आफूले धेरै पहिलेदेखि यो पेसा गर्दै आएको जनाउँदै अहिले पनि खच्चड व्यवसायलाई निरन्तरता दिँदै आएको बताए ।

    काम कम हुँदा आम्दानीमा कमी आएको भन्दै उनले सोही कारणले अहिले खच्चडलाई पालनपोषण गर्न मुस्किल हुन थालेको धारणा राखे ।

    व्यावसायिकरूपमा खच्चड पालेर जीविकोपार्जन गर्दै आएका फडेरा मात्र नभएर जिल्लाका अधिकांश व्यापारीले अहिले गाडी, ट्याक्टर चलाउन शुरु गरेका छन् ।

    समयको मागसँगै रैथाने पेसाबाट आम्दानी कम हुन थालेपछि वैकल्पिकरूपमा जीप, बस र ट्याक्टर सञ्चालन गर्नुपरेको उनको अनुभव छ ।


    प्रकाशित : मंगलबार, आश्विन २८ २०८२१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार