पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट शुरु गरेको छ ।
स्थापनाकालदेखि साविक बालाकोट गा.वि.स. तथा वडा नं. ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा हाल आफ्नै भवनबाट सञ्चालन गरेको हो ।
महाशिला–३ र वडा नं. ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।
झण्डै रु. पाँच करोडको लागतमा भवन निर्माण भएको हो । तीसवटा कोठा रहेको भवनबाट पालिकाका सबै शाखाको सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
साँघुरो र जीर्ण भवनबाट असहजरूपमा सेवा दिनुपरेकोमा अब एउटै भवनबाट एकिकृतरूपमा सबै वडालाई पायक पर्नेगरी सेवा प्रवाह गर्दा नागरिक र कर्मचारी दुवैलाई सहज भएको प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ ।
सेवा शुरु भए पनि भवन हस्तान्तरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
जिल्लाको सबैभन्दा सानो पालिका महाशिलाका छवटै वडा कार्यालय भने बनिसकेका छन् । पालिकाको भौतिक पूर्वाधार तयार भइसकेकोले अब सडक र शिक्षामा जोड दिन थालिएको छ ।
पालिकाको दस शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । बढ्दो बसाइँ-सराइलाई रोक्न गुणस्तरीय सडक र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष भुसालले जानकारी दिए ।
यो सँगै पर्वतका छवटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न थालेका छन् ।
सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बाहेक अन्य छ पालिकाले आफ्नै भवन निर्माण गरिसकेका छन् ।
मोदी, पैंयू, विहादी र जलजला गाउँपालिकाका आफ्नै भवन बनेका छन् । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

