२०८३, कार्तिक १२ गते बिहीबार

धारापानी क्षेत्रमा विद्युतीकरण

धारापानी क्षेत्रमा विद्युतीकरण


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८२ सोमबार

  • धारापानी क्षेत्रमा विद्युतीकरण

     

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका)मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ ।

    नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो ।

    वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदूरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ भने पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ । यसका लागि करिब रु. ६५ लाख खर्च हुने अनुमान छ ।

    विद्युतीकरणका लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ ।

    यसअन्तर्गत पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने कार्य हुने जनाइएको छ ।

    केन्द्र प्रमुख श्रीवास्तवले हाल आवश्यक सामग्री ढुवानी भइसकेको र पोल गाड्ने काम तीव्र गतिमा अगाडि बढाइएको बताए ।

    धार्मिक क्षेत्र मुडकादेखि पर्यटकीय गाउँ धारापानीसम्मको पाँच किलोमिटर क्षेत्रमा विद्युत् पुर्याउने लक्ष्य रहेको र यसका लागि एक सय ८२ वटा पोल जडान गरिने उनले जानकारी दिए ।

    ठेक्का सम्झौताअनुसार ९० दिनभित्रै काम सक्ने लक्ष्य राखिएको छ । तिहारअघि नै त्यस क्षेत्रमा बिजुली पुर्याउने हाम्रो लक्ष रहेको श्रीवास्तवले बताए ।

    विद्युतीकरणको काम अघि बढेपछि स्थानीय बासिन्दा र भक्तजनमा खुसी छाएको छ । वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावका कारण भक्तजनले सास्ती खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा छ ।”

    उनका अनुसार धारापानीमा वि.सं. २०२८ सालदेखि बस्ती बसेको भए पनि हालसम्म विद्युत् सेवा पुगेको थिएन । त्यहाँ करिब ३५ परिवारको बसोबास छ ।

    स्थानीय बासिन्दाले लामो समयदेखि टुकीको भरमा रात कटाउँदै आएका थिए ।

    स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ भन्ने समाचारले हामी निकै खुसी भएका छौँ । विद्युत् नहुँदा समस्या थियो, मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढाको गाउँसम्म पुग्नुपर्दथ्यो, विद्युतीकरणका लागि पोल गाड्ने कार्य अगाडि बढेकोले विद्युत् पुग्नेमा आशावादी भएका छौँ”, उनले भने ।

    यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र होइन, भीमदत्त नगरपालिकाको खल्लामुसेट्टी क्षेत्रमा समेत करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको वितरण केन्द्रले जनाएको छ ।

    त्यहाँ अढाइ किलोमिटर क्षेत्रमा पोल गाड्ने, तार तान्ने र दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको छ ।

    श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रसम्म पनि विद्युत् बिस्तारको कार्य पूरा गरिएको छ ।


    प्रकाशित : सोमबार, कार्तिक ३ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार