भोजपुर । विद्युतीकरणपछि यहाँका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ ।
विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् बिस्तार भएको गाउँ हो - भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे ।
यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ । भौगोलिकरुपमा विकट मानिएको यस क्षेत्रमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा नै परिवर्तन आएको हो ।
विद्युत् पहुँचले कुटानी, पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडासदस्य जानुका सुयल बताउँछिन् ।
गाउँ–गाउँमा विद्युतीय मिल जडान भएपछि एक दिनसम्म लगाएर कुटानी, पिसानीका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको उनले सुनाइन् ।
विद्युत् पहुँचपछि स्थानीय तहले उद्यमशीलता विकासमा सहजीकरण गरिरहेको छ । वडाध्यक्ष एकराज आचार्यले कुटानी–पिसानी समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको जानकारी दिए ।
स्थानीयको कुटानी–पिसानीको समस्या अन्त्यका लागि वडाले विद्युतीय मिल दिएको उनको भनाइ छ ।
“वडाका सबै स्थानमा विद्युत् पहुँच पुर्याउन सफल भएका छौँ । त्यसैले विद्युत्को उपयोगबाट जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौँ । स्थानीयलाई कुटानी–पिसानीमा सहजता थप्न विद्युतीय मिल वितरण गरेका छौँ”, वडाध्यक्ष आचार्यले भने ।
मिल वितरणसँगै स्थानीयलाई उद्यशीलतासँग जोड्न प्रोत्साहन गरिरहेको उनले बताए ।
अब रैथाने बाली कोदो, गहुँ, जौ, फापरको पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको र त्यसका लागि ‘बैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।
उनले भने “हामीले रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएका छौँ । रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन पनि गरिरहेका छौँ । यहाँका रैथाने उत्पादनलाई पिसेर, कुटेर शहर पठाउने लक्ष्य छ । विद्युतीकरणले यसमा थप सहज भएको छ”, उनले भने ।
विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयवासीलाई सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडासदस्य जयन्द्रकुमार राईले बताए ।
विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा समेत सहजता भएको उनको भनाइ छ ।

