भोजपुर । ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हाराहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।
ग्रामीण क्षेत्रमा सिपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ ।
यहाँका दलितका लागि यो बाहेक अर्को विकल्प नभएकोले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो ।
बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ ।
यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धार लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ ।
कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर दस पाथीदेखि एक मुरी (वीस पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नून, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ ।
देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिए ।
बाउबाजेले गरी आएको काम भएकोले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उनको भनाइ छ ।
उनका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् ।
तर यहाँ अझै पनि धेरै वर्षअघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन ।
केही सुधार भए पनि अहिले पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्दछन् ।
आफूजस्ता अभियन्ताहरूले हकअधिकारका लागि विभिन्न अभियान सञ्चालन गरे पनि त्यो पर्याप्त हुन नसकेको रणपहेलीले बताए । यो प्रथाको अन्त्यका लागि हामी लागिरहेका छौँ । विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।
तर यस्तो प्रथा भने कायम नै छ । यसको मुख्य कारण गरिबी भएको उनले भने । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा पछिल्लो समय युवापुस्तामा यो पेसाप्रति रुचि घट्दै गएको उनको भनाइ छ ।

