२०८३, कार्तिक १२ गते बिहीबार

पात बेचेर चाडपर्व खर्चको जोहो

पात बेचेर चाडपर्व खर्चको जोहो


  • मेरोभ्यूज
  • कार्तिक ११, २०८२ मंगलबार

  • पात बेचेर चाडपर्व खर्चको जोहो

     

    सुनसरी । यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेको छ ।

    उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेको हो । हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो ।

    हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् ।

    उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ ।

    अरु समयमा ज्यालामजदूरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।”

    धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफ्नो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु. आठ हजारदेखि रु. दस हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् ।

    सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ । यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बेचेर खर्च जुटाउनेहरूको गुनासो छ ।

    इटहरी उपमहानगरपालिका–७ कि ईन्द्रदेवी घिमिरेले पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएको छ । उनले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन् ।

    घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ ।

    “दसैँ-तिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ । यसबाट मासिक रु. ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा रु. ४० देखि ६० र ठूलो मुठा रु. एक सयसम्म बिक्री गरिरहेकी छु”, उनले भनिन् ।

    उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेको छ ।

    पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकोले शहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा सङ्लग्नहरूको भनाइ छ ।


    प्रकाशित : मंगलबार, कार्तिक ११ २०८२०५:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार