२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी


  • मेरोभ्यूज
  • कार्तिक २१, २०८२ शुक्रबार

  • व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

     

    भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएको छ । राईले करिब वीस रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।

    बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ ।

    “व्यावसायिकरूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोगमा ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभोकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उनले भने । भावी दिनमा वार्षिक रु. दसदेखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उनले बताए ।

    राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला शहरमा पुग्ने गरेका छन् ।

    कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ ।

    “बहुवर्षीय बाली विस्तार गरेमा लामो समयसम्म आम्दानी लिन सकिन्छ”, उनले भने, “बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाह गर्दा सहजरूपमा दीर्घकालसम्म आम्दानी हुन्छ ।”

    स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ ।

    ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् ।

    किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, कार्तिक २१ २०८२१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार