२०८३, कार्तिक १२ गते बिहीबार

राहुघाटमा दुई जलविद्युत् आयोजना

राहुघाटमा दुई जलविद्युत् आयोजना


  • मेरोभ्यूज
  • कार्तिक २३, २०८२ आइतबार

  • राहुघाटमा दुई जलविद्युत् आयोजना

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुईवटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।

    रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

    ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावर कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए ।

    “तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्”, उनले भने, “चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ ।”

    चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए । उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत रु. १३ अर्ब हो ।

    यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायीरूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।

    चिमखोला–राहुघाट–मङ्गलेको रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय दस मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्रयाउने पोखरी निर्माण भएको छ ।

    बाँधबाट पाँच किलोमिटर तीन सय मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ ।

    विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए ।

    चिमखोला–मङ्गले–राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो ।

    रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा विद्युतगृह रहेको अपर राहुघाटको सुरुङ चार हजार नौ सय मिटर लामो छ । आउटलेटबाट विद्युतगृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।

    “दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो । साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको हो”, इञ्जिनियर तिमिल्सिनाले बताए ।

    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो ।

    बन्दीस्थित ठूलोखोलाको विद्युतगृहबाट चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युतगृहसम्म आठ किलोमिटर एक सय ३२ के.भि. क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।

    चिमखोलाबाट तिल्केनीसम्म दुई सय वीस के.भि. क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।

    राहुघाट बेसीनमा ६३ दशमलव पाँच मेगावाट क्षमताका थप दुईवटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

    चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

    राहुघाट र माथिल्लो दुईखोला जलविद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।


    प्रकाशित : आइतबार, कार्तिक २३ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार