२०८३, कार्तिक १२ गते बिहीबार

कागती बिक्रीबाट बार्षिक रु तीन लाख आम्दानी

कागती बिक्रीबाट बार्षिक रु तीन लाख आम्दानी


  • मेरोभ्यूज
  • कार्तिक २४, २०८२ सोमबार

  • कागती बिक्रीबाट बार्षिक रु तीन लाख आम्दानी

     

    भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिकरूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु. तीन लाखसम्म आम्दानी हुने बताए ।

    अहिले उनले करिब दस रोपनी क्षेत्रमा साना-ठूला गरी तीन सय ५० बोट कागती रोपेको छ । “व्यावसायिकरूपमा कागतीखेतीमा लागेको छु”, उनले भने, “अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु । साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।”

    छ वर्षअघिबाट फलफूलखेती शुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकाडोको पनि खेती विस्तार गरेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकोले बहुवर्षीय बालीखेतीमा जोड दिएको उनको भनाइ छ ।

    “एक पटक विस्तार गरेपछि दिर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु”, उनले भने, “कागतीसँगै सुन्तला, एभोकाडोको पनि खेती गरिरहेको छु ।”

    फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकोले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

    उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

    “पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।”

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दिगोरूपमा आम्दानी लिनसक्ने भएकोले आवश्यक सहयोग गर्दै आएको बताइन् ।

    किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । “वडागतरूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूलखेतीमा प्रोत्साहन दिइरहेका छौँ”, उनले बताइन् ।


    प्रकाशित : सोमबार, कार्तिक २४ २०८२१०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार