२०८३, कार्तिक ११ गते बुधबार

कलमदेखि कृषि कर्मसम्म

कलमदेखि कृषि कर्मसम्म


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८२ बिहीबार

  • कलमदेखि कृषि कर्मसम्म

     

    लमजुङ । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ ।

    अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने लमजुङका पत्रकार नविन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ ।

    कलम समात्ने हातले कहिले कुटो र कोदालो समातेको छ भने कहिले तरकारी बालीभित्र रहेका झार पतिङ्गर टिप्दै गरेको छ । समाचार लेख्ने दृष्टि अहिले विस्तार भएर माटो चिन्न र पढ्न थालेको छ ।

    त्यसो त पत्रकारिता र गाउँको माटोबीच प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ समाचारका कारणले । किसानको सफलता र बजारीकरणमा पत्रकारको कलमले ठूलो काम गर्दछ ।

    निवनले गरेको कृषि कर्मले कलम र माटोबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर व्यवहारमा उतारेको छ । वर्षौंदेखि उनी अरू किसानका सफलताको कथा लेख्ने, अरूका सपना छाप्ने, अरूका उपलब्धि प्रसारण गर्थे ।

    मोफसलको पत्रकारिताले मात्र जीवन धान्न कठिन हुन थाल्यो, यही क्रममा कुइकेलको मनमा एउटा प्रश्न उब्जिन थाल्यो-अरूका कथा लेख्दैछु, तर मेरो आफ्नै कथा कहाँ छ ? यही प्रश्नले उनलाई कृषि फार्मतिर डोहोर्याएको थियो ।

    वि.सं. २०७५ मा उनले तीन जना साथीसँग मिलेर देशमै केही गरौं भन्ने सङ्कल्पसहित चार जना युवाले व्यावसायिक कृषि कर्म शुरु गर्ने निर्णय गरे र नाम राखे 'मर्स्याङ्दी कृषि फार्म' । सबैको उद्देश्य एउटै थियो-गाउँमै बसेर केही उत्पादन गर्ने, आफ्नै जग्गामा नयाँ सम्भावना खोज्ने, त्यसको व्यावसायिकरुपमा बजारीकरण गर्ने ।

    स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीमा रहेको करिब १५ रोपनी जग्गामा व्यावसायिक कृषि शुरु गरिएको थियो । प्रारम्भमा सानो प्रयोग मात्र थियो यो फार्म, तर त्यही प्रयोग अहिले गाउँ मात्र नभएर पालिकाकै परिचय बनेको छ । समयको प्रवाहसँगै साथीसँगका बाटाहरू छुट्टिए । आज सबै साथीहरू आफ्ना फरक कामतिर लागेका छन् तर नविन भने अझै त्यही खेतकै कर्ममा रमाएको छ ।

    उनी मुस्कुराउँदै भन्छन, ''साथीहरू गएकोले होइन, सपना बाँकी भएकोले म यहाँ छु ।'' अहिले फार्मको सम्पूर्ण जिम्मेवारी उनी एक्लैले सम्हालेको छ र त्यो जिम्मेवारी उनले केवल पेशा भनेर होइन, प्रतिबद्धता लिएर काम गर्दै आएको छ ।

    खेतमा अहिले लोकल कुखुरा, ब्रोइलर कुखुरा, मौसमी, बेमौसमी तरकारी र फूलखेती भइरहेका छन् । बिहान फार्ममा पसेपछि उनको संसार नै बदलिन्छ ।

    बोटबोटानी सजीव लाग्छन्, चराचुराको आवाजमा लय हुन्छ, अनि पसिनामा सन्तोष ।

    हाल फार्ममा सात सय ब्रोइलर कुखुरा छन् । उनले चाँडै भैँसीपालन पनि थप्ने तयारी गरिरहेका छन्, ताकि दूध, मल र अर्गानिक उत्पादन हुँदै जैविक चक्र एकसाथ सन्तुलित गर्न सकियोस् ।

    उनको फार्म अहिले पारिवारिक श्रममा आधारित छ । घरका सबै सदस्य यसैमा सक्रिय छन् । दैनिकरूपमा खेत जोत्न, बजारमा सामान पुर्याउन, गोलमेल गर्न वा अन्य कामका लागि मानिसहरुले काम पाएका छन् । त्यसैगरी उत्पादन वितरण र बिक्रीमा पनि केही स्थानीय युवाहरू संलग्न छन् ।

    नविनले अहिले पनि सक्रिय पत्रकारिता गरिरहेको छ । जिल्लामा भएका कार्यक्रम, समाचार सङ्कलनलगायतका कार्यक्रममा समेत पुग्नुपर्ने हुँदा कृषिमा भने जति समय दिन नसकेको उनी बताउँछन् ।

    उनी पत्रकार महासङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष र पूर्व केन्द्रिय सदस्य हुँदै हाल पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य रहेको छ ।

    पत्रकारितामा लामो समय बिताइसकेका उनी भन्छन्, “पत्रकारिताबाट मात्र जीवन धान्न गाह्रो छ । पत्रकारितालाई पनि जोगाउँदै, आत्मनिर्भर बन्नका लागि कृषिलाई व्यावसायिकरूपमा अँगालेको हुँ । पत्रकारिता मेरा लागि जिम्मेवारी हो, खेती मेरो आत्मा हो ।” उनी भन्छन्, “म सधैँ सोच्थें-समाचारले समाज बदल्छ, अब लाग्छ, माटोले पनि बदल्छ ।”

    उनका लागि समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिता, संघ/संस्थाको जिम्मेवारी, खेती र परिवार सबैलाई सन्तुलनमा राख्न सजिलो छैन । तर उनले त्यसलाई गुनासोको रूपमा होइन, अवसरको रूपमा लिएको छ ।

    “धेरैले समय चिया पसलमा गफ गर्ने, फेसबुकमा बिताउने, अनावश्यक बसाइमा बिताउँछन्, त्यही समय म खेतमा लगाउँछु,” उनी भन्छन् ।

    करिब रु. वीस लाखको लगानी भइसकेको उक्त फार्ममा हाल आठवटा टनेलमा र खुला जमिनमा मौसमी, बेमौसमी तरकारी र सयपत्रीखेती गरिएको छ ।

    बेसीँशहर–चामे सडकको नजिकै भएकोले लमजुङ र मनाङमा यसको बजार पहुँच छ । यसको अलवा पनि खुदीबजार, भुलभुले बजार, वेसीशहरलगायत स्थानीय बजारसम्म यहाँका उत्पादन सहजै विक्री वितरण गर्न सकिन्छ ।

    बाह्रै महिना फूल उत्पादन गर्ने कुईकेलको फार्ममा यतिखेर फूल बिक्री भइरहेको छ । बिहानको घाममा जब ती फूलहरू हल्लिन्छन् वरपरको वातावरण नै सुगन्धले भरिन्छ ।

    कुईकेल भन्छन्, “कृषि केवल आम्दानी होइन, सौन्दर्य पनि रहेछ । म चाहन्छु, युवा पुस्ताले गाउँको सुन्दरता र सम्भावना देखोस् ।” देशका युवाले विदेश गएर मात्र होइन, आफ्नै माटोमा पसिना बगाएर पनि सफल हुन सक्छन् भन्ने उदाहरण दिन चाहेको उनले बताए । उनको फार्म त्यसैको उदाहरण हो । जहाँ युवाको आँट, श्रम र सिर्जनशीलता एकसाथ भेटिन्छ ।

    यस कृषि फार्ममा अहिले जैविक प्रणाली अपनाइएको छ । रासायनिक मलको सट्टा गोबर र कम्पोष्ट मल, सिँचाइका लागि ड्रिप प्रणाली, किरा नियन्त्रणका लागि प्राकृतिक उपायहरू अपनाइन्छ । नविनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, एउटा सन्देश पनि हो । युवाले परदेश नगएर पनि आफ्नो देशमा केही गर्न सक्छन् ।

    पत्रकारिताले उनलाई दृष्टि दियो, कृषिले उत्पादन दियो । जब दृष्टि र कृषि एकअर्कामा मिसिन्छन् अनि सफलता त्यसैको पछि-पछि लाग्छ ।


    प्रकाशित : बिहीबार , कार्तिक २७ २०८२०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार