भोजपुर । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् ।
मनग्य आम्दानी र औषधिय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं. ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं. १० साम्पाङ, आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायत क्षेत्रमा किसानले सतुवाको व्यावसायिक खेती विस्तार गरेका छन् ।
किसानको भनाइअनुसार सतुवा ‘यार्सागुम्बा’जस्तै शक्तिवर्द्धक जडीबुटी हो । यो क्यान्सर, ग्यास्ट्रिक, पेट दुख्ने, पोल्ने, काट्ने वा पाकेको घाउ, बान्ता, पखाला तथा घाँटी दुख्ने रोगमा उपयोगी मानिन्छ । सर्पको टोकाइ वा विषसेवनका अवस्थामासमेत यसको उपयोग हुने बताइन्छ ।
सतुवा करिब एक हजार चार सय मिटर उचाइभन्दा माथिका लेकाली भेगमा राम्रो फस्टाउने गर्दछ । चिस्यानयुक्त, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम मोहोडा भएको भू-भाग यसको खेतीका लागि उपयुक्त हुने किसान बताउँछन् ।
यस जडीबुटीको गानो अदुवाजस्तै देखिन्छ । प्रायःएउटा बोटमा एक डाँठ पलाए पनि राम्रो फस्टाएको बोटले धेरैवटा दिनसक्छ । किसानले यसको बिरुवा तथा गाना बिक्री गरेर आम्दानी लिँदै आएका छन् ।
सतुवाखेती लेकाली भेगका किसानको रोजाइको खेती बन्दै गएको षडानन्द नगरपालिका-१० भिरथाप्लाका निमा शेर्पाले बताए ।
भदौ-असोजमा फुलेर डाँठ सुक्ने सतुवाको गानो माघ-फागुनमा पुनःपलाउँछ । दुईदेखि तीन वर्षमा फुल्ने सतुवाको एउटै बोटबाट ५० देखि एक सय बिरुवा उत्पादन हुन्छ ।
स्थानीय व्यवसायीका अनुसार सतुवा मुख्यतःभारत र चीन निर्यात हुने गर्छ ।
यसका बीउ र बिरुवाको माग सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङजस्ता पहाडि जिल्लाबाट पनि आइरहेको किसानको भनाइ छ ।
औषधिय गुण, बजार मूल्य र फाइदाका कारण सतुवाखेती भोजपुरका लेकाली भेगका किसानका लागि नयाँ सम्भावना बनेको छ ।

