कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएको छ । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएको हो ।
पाँच वर्षअघि रु. ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती शुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहेको छ ।
बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेको छ ।
चौधरीले भने, “पहिले ज्ञान, सिप कम थियो । छ महिना मात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।”
सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु. दस लाख आम्दानी हुने उनले सुनाए । हाल बजारमा च्याउ प्रतिकिलो रु. एक सय ८० का दरले बिक्री भइरहेको छ ।
चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए ।
उनले भने, “बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । हाल प्रतिदिन ७० देखि ८० के.जि. च्याउ बिक्री गर्दै आएको छु ।”
चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउँछन् ।
यसै व्यवसायबाट चार जनाको परिवारको लालन-पालन, छोराछोरीको पढाइ-लेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले जानकारी दिए ।
यसबाटै भएको कमाइबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले सुनाए ।
“आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठजनालाई रोजगारीसमेत दिएको छु”, चौधरीले भने, “हाल ज्यालादारीमा दैनिक आठजनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति रु. छ सयदेखि सात सयसम्म ज्याला दिने गरेको छु ।”

