भोजपुर । पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सिपबाट आम्दानी गर्न थालेका छन् ।
गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सिपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो ।
महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सिपमूलक तालिम प्रदान गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताए ।
ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सिप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएको उनले उल्लेख गरे ।
सिप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष राईले बताए ।
उनका अनुसार गाउँघरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशिल बनाउन गत आर्थिक वर्षमा २७ जना महिलालाई अचार बनाउने सिप प्रदान गरिएका थिए ।
टेम्केमैयुङ गाउपालिका–४, नागिकी सम्झना राईले सोही तालिम लिएपछि आफ्नै गाउँमा अचार उत्पादन शुरु गरेको बताइन् । सिपले जीवन निर्वाह गर्न सहजता प्रदान गरेको उनको भनाइ छ ।
“सिप सिकेपछि घरमा अचार बनाउन थालेकी छु”, उनले भनिन्, “यसले मलाई आत्मनिर्भर बन्न सहज बनाएको छ । जानेको सिप अरुलाई पनि सिकाएर प्रेरित गर्दै आएकी छु ।”
यहाँका सिप लिन इच्छुक दलित समुदायका महिलाको पहिचान गरेर बाँसको मुढा बनाउने तालिम दिएपछि अहिले महिला स्वरोजगार बन्दै गएका छन् ।
पौवादुङ्मा गाउँपालिकामा १९ वटा आमा समूहले गड्यौलाको मल उत्पादन गरी बिक्री वितरण गर्न थालेका छन् ।
पौवादुङ्मा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला विकास बोर्ड गठन गरी उद्यमसँग जोड्न विभिन्न गतिविधि सञ्चालन गर्न थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका महिलाहरू पनि सिपमूलक तालिमपछि उद्यममा जोडिएका छन् । स्थानीय चन्द्रकला राई अहिले सिलाइकटाइ व्यवसायमा सक्रिय छिन् ।
“वडामा सिपमूलक तालिम पाउँदा हामीजस्ता गृहिणी महिलालाई सजिलो भयो”, उनले भनिन, “अहिले यही व्यवसायबाट घरखर्च चलाउन सहज र आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”
सिलाइकटाइ तालिमबाट स्वरोजगार बन्नुका साथै आत्मविश्वास बढेको चन्द्रकलाको भनाइ छ । “हामीजस्ता महिलालाई अन्य ठाउँमा गएर तालिम लिन गाह्रो पर्थ्यो”, उनले भनिन्, “आफ्नै गाउँमा तालिम लिएर व्यवसाय गर्न पाउँदा खुसी छौँ ।”
स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशिलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन् ।

