झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु. चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।
मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउ-जाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए ।
पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन दस किलोमिटर घुम्नुपर्थ्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ ।
पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको स्थानीय भटभटिया राजवंशीले बताए ।
“पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ”, विगतको पिडा राजवंशीले स्मरण गर्दै भने ।

