२०८३, कार्तिक १२ गते बिहीबार

कृषि पेसाबाट मनग्य कमाइ

कृषि पेसाबाट मनग्य कमाइ


  • मेरोभ्यूज
  • मंसिर ८, २०८२ सोमबार

  • कृषि पेसाबाट मनग्य कमाइ

     

    तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।

    वैदेशिक रोजगारी र बसाइँ-सराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपी, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषि कर्म भने जिल्लामै उदाहरणीय छ ।

    पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर शहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएका छन् ।

    म्याङलुङ नगरपालिका–६ मेक्चानाका ५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहेको छ ।

    श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताए । लगानी र आफ्नो निमेक काटेर वार्षिक रु. ११ लाख बच्ने गरेको उनले सुनाए ।

    ‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिकरूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गरिरहेको हो । उनले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दैआएको छ ।

    उनले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताए । यसमा काक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् ।

    करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएको हो । उनी मौसमी र बेमौसमी दुवै किसिमको तरकारीखेती गर्छन् ।

    उनको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उनले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानी मात्र लगाए भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताए ।

    “यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा दस क्विन्टल जति निस्किन्छ”, आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भने ।

    तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आएको छ ।

    परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहेका कृष्णकुमारले गत वर्ष रु. २५ लाख आम्दानी भएको बताए ।

    वि.सं. २०६९ मा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेती मात्र लगाएका उनले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिएको छ ।

    यो याममा हालसम्ममा एक हजार दुई सय किलो अकबरे खुर्सानी बेचिसकेका उनले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताए ।

    वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताए ।

    नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आएको छ । कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् ।

    अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले जानकारी दिए ।

    श्रेष्ठद्वयले मल्चिङ प्लाष्टिकको प्रयोग गरेर तरकारीखेती गर्दै आएका छन् ।

    मल्चिङ प्लाष्टिकको प्रयोगले लागत घटाउने उनीहरूको अनुभव छ । बेमौसमी तरकारीका लागि भने टनेलको प्रयोग गर्नुपर्ने उनीहरूले बताए ।

    पशुपालन तथा तरकारीखेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उनीहरूले सुनाए । यो क्षेत्रकै अगुवा किसानका रूपमा श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका, घरेलु तथा सानो उद्योग कार्यालयले समेत अनुदान, उपकरण र तालिमलगायतका सहयोग प्रदान गर्दैआएको छ ।

    तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा तरकारी बालीमा नमूना फार्म स्थापनाका लागि रु. तीन/तीन लाख अनुदान प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताए ।

    उनका अनुसार कृषि ज्ञान केन्द्रको धनकुटा-तेह्रथुम कार्यक्षेत्र रहेको बेलामा समेत धनकुटाबाट पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनीहरूको तरकारी बालीको ब्लक विकास सञ्चालन गरिएको थियो ।

    कृष्णकुमार र तिलबहादुरको लामो समयदेखि जिल्लामा ताजा तरकारी उत्पादनमा योगदान रहेकोले उनीहरुले तत्कालीन कृषि विकास कार्यालयमार्फत पनि विभिन्न अनुदान प्रदान गरिएको देखिएको प्रमुख राईले बताए ।

    परम्परागत कृषिखेती गरिरहेका श्रेष्ठद्वयले २०५८ सालमा खोलाखेत बाढीले बगाएपछि तत्कालीन गाउँ विकास समितिबाट राहतमा पाएको काक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका थिए ।

    एउटा गरा बारीबाट शुरु भएको उनीहरुको तरकारीखेती थुप्रै रोपनीमा विस्तार भइ लाखौँ आम्दानी दिन सफल हुँदा तिलबहादुर र कृष्णकुमार खुसी छन् ।

    पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बनेका उनीहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गर्छन् ।


    प्रकाशित : सोमबार, मंसिर ८ २०८२०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार