२०८३, कार्तिक १२ गते बिहीबार

पाँच जलविद्युत् आयोजना निर्माण

पाँच जलविद्युत् आयोजना निर्माण


  • मेरोभ्यूज
  • मंसिर ९, २०८२ मंगलबार

  • पाँच जलविद्युत् आयोजना निर्माण

     

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा एक सय ६२ मेगावाट क्षमताका पाँचवटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।

    थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र एक सय ७३ दशमलव १४ मेगावाटका दुईवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

    अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

    नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्ये कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

    नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ ।

    कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।

    निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ ।

    भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले जानकारी दिए ।

    “हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घर-घरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै शहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँ-सराइ रोकिएको छ ।”

    गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् ।

    जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ ।

    जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदूरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए ।

    जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर)मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ ।

    नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयले हाइड्रो इञ्जिनियरिङ विषयको पठन-पाठन सञ्चालन गरेको छ ।

    म्रिस्तीखोला जलविद्युत् आयोजनाले वि.सं. २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो ।

    बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुईवटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ ।

    नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

    रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए ।

    घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् ।

    नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धकले शेयर निष्काशनको प्रक्रियामा छन् ।

    कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ ।

    वि.सं. २०७७ मा निर्माण सकिएको २२० के.भी. क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् ।

    म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार