२०८३, कार्तिक १३ गते शुक्रबार

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती


  • मेरोभ्यूज
  • मंसिर ९, २०८२ मंगलबार

  • पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

     

    सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएको छ ।

    उनले वि.सं. २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु. ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेको छ ।

    गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती शुरु गरिएको थियो ।

    शुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले जानकारी दिए ।

    व्यवसायी गुरुङले भने, “फार्ममा हाल करिब दुई सय ५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले बर्षमा एक पटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकोले आय स्थिर हुन्छ ।”

    उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिकरूपमा रु. चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए । पहिले प्रति बोट रु. दुई सयदेखि रु. चार सय सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार रु. ५० देखि रु. ७० मा बिक्री हुने गरेको उनले बताए । ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो रु. चार सय र होलसेलमा रु. तीन सय ५० मा बिक्री हुने गरेको छ ।

    फार्ममा मासिक रु. १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक रु. सात सय ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ ।

    गुरुङले भने, “फार्म सञ्चालन, मल खाद्य, औजार तथा श्रमिक लागतवापत वार्षिक करिब रु. आठ लाख खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिकटन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौं, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।”

    आम्दानी राम्रो भएकोले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ ।

    हाल सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र दस घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् ।


    प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०८:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार