२०८३, कार्तिक ११ गते बुधबार

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन


  • मेरोभ्यूज
  • मंसिर १०, २०८२ बुधबार

  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

     

    सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेको छ ।

    पुर्ख्यौली सिपलाई नै व्यवसायिकरूपमा अङ्गाल्दै आएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएको जानकारी दिए ।

    उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाउँछन् ।

    यो हाम्रो पुर्ख्यौली पेशा हो । समय दिएर बनाउँदा आम्दानी राम्रै हुन्छ, उनले भने, राईका अनुसार वर्षेनी करिब रु. सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको सुनाए ।

    नाङ्लो बनाउँनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्छन् । एकवटा बाँस रु. दुई सयदेखि तीन सय रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।

    एकवटा बाँसबाट दसदेखि १२ वटा नाङ्लो बनाउन सकिने उनको भनाइ छ ।

    उनले एक हप्तामा करिब एक सय ५० भन्दा बढी नाङ्लो बनाउने गरेको जानकारी दिए । हप्तामा बनाएको नाङ्लो धेरै जसो व्यापारीहरू हप्तैपिच्छे घरमा आएर लैजान्छन् ।

    नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर, पथरीलगायत क्षेत्रमा बिक्री हुने गरेको छ ।

    एकवटा नाङ्लो रु. एक सय ३० देखि रु. दुई सय ५० सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन ।

    पहिले हामी भोजपुरबाट ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो नै भोजपुरका व्यापारीले आएर लैजान्छन् ।

    दसैँ, तिहार, छठलगायत प्रमुख चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने हुँदा भदौ, असोज र कात्तिक महिनामा यसको बिक्री सामान्य दिनभन्दा बढी हुने गरेको उनको अनुभव छ ।

    सुनौलो बस्तीमा राईसहित करिब १५ घरधुरीभन्दा बढीले व्यावसायिकरूपमा नाङ्लो बुनेर जीविका चलाइरहेको छ । यसले परिवारलाई घरमै बसेर काम गर्ने अवसर प्रदान गर्नुका साथै परम्परागत पेसा जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

    बाहिर अर्काकोमा मजदूरी गरेर कमाइभन्दा घरमै बसेर पुर्ख्यौली सिप जोगाउँदै कमाउनु फाइदाजनक छ । मेहनत भए पनि आम्दानी स्थिर हुने भएकोले पेशाप्रति सन्तुष्टी रहेको उनको भनाइ छ ।

    उनले भने, “नाङ्लो बुनेरै सानो घर निर्माण गर्ने गरेको छु, छोरा-छोरीको पढाइसमेत यसै आम्दानीले पुगेको छ ।

    ग्राहकको मागअनुसार विभिन्न साइज र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने राईले जानकारी दिए ।

    बजारमा नाङ्लोको वृद्धि भए पनि मूल्य वृद्धि हुन नसकेको कारण मूल्य बढाउन आवश्यक रहेको उनको सुझाव छ ।

    यो पेशालाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले सहयोग र ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।


    प्रकाशित : बुधबार, मंसिर १० २०८२०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार