२०८३, कार्तिक १२ गते बिहीबार

तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तरकारी खेतीमा रमाउँदै कमलप्रसाद


  • मेरोभ्यूज
  • मंसिर १७, २०८२ बुधबार

  • तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

     

    म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएको छ ।

    सुविधा र अवसरको खोजीमा गाउँबाट शहर र शहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो ।

    वि.सं. २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उनले भने “२० वर्ष बेनीमा व्यवसाय गरेँ । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न शहरमा नोकरी गरेँ । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।”

    तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुर्ख्यौली पाखोबारीलाई व्यवस्थापन गरेको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ ।

    सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकोले तरकारी खेतीमा पौडेलले सम्भावना देखेको छ । बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताए ।

    खेती गर्न छाडेपछि पुर्ख्यौली जग्गा उपभोगविहीन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झर्यौं,” उनले भने “बजारमा दुःख-सुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन् । खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ ।”

    बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो । जन्मथलो फर्किएपछि उनले बस्नको लागि सामान्य घर निर्माण गरेको छ । साना–साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माइ गरा बनाएको छ । मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिएको उनका छिमेकी गोपाल आचार्यले बताए ।

    म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ ।

    फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ ।

    वि.सं. २०४६ देखि शुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना वि.सं. २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ । त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो ।


    प्रकाशित : बुधबार, मंसिर १७ २०८२०९:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार