२०८३, कार्तिक १३ गते शुक्रबार

परम्परागत कपास खेती

परम्परागत कपास खेती


  • मेरोभ्यूज
  • मंसिर १७, २०८२ बुधबार

  • परम्परागत कपास खेती

     

    भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवर्द्धन थालेको छ ।

    गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो ।

    कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकोले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ ।

    कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा रु. २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुन्छ ।

    अहिले उनले २० रोपनी क्षेत्रमा कोगटीखेती गरिरहेको छ । कोगटीबाट बनेको खैरो कपडा महङ्गो पर्ने उनको भनाइ छ । उनले यसको खेतीबाट गत वर्ष मात्र रु. तीन लाख ५० हजार आम्दानी गरेको बताए ।

    कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ । त्यसलाई तानमा लगाएर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ ।

    बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले जानकारी दिए । १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उनले बताए ।

    गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका लागि औजार–उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए ।

    सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त रु. ३० लाख बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान–चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।

    यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु. २५ लाख बराबरको कोगटीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।

    वडा नं. ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी खेती हुने गरेको छ । यहाँका २५/३० घरधुरीले व्यावसायिकरूपमा खेती गर्दै आएका छन् ।


    प्रकाशित : बुधबार, मंसिर १७ २०८२०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार