भोजपुर । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पाच सय २५ परिवारलाई जस्तापाता छानो लाउन वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिकरुपमा कमजोर परिवारलाई जस्तापाता छानो लाउन वितरण गरेको हो ।
गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाता छानो लाउन वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।
गाउँपालिकामा आवेदन दिएका छ सय ९९ घरमध्ये हालसम्म पाच सय २५ परिवारको छानो फेरिसकेको अधिकृत भट्टराईले जानकारी दिए ।
यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए ।
यस वर्षका लागि रु. एक करोड वीस लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ । हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी रु. दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए ।
गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट छवटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उनको भनाइ छ ।
नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकोले उनीहरुलाई सहज र सुरक्षितरुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकोले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।
“नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भने, “आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए ।
ती नागरिकहरुलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।”
आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागीका कारण बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।
यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
अभियानअन्तर्गत वडा नं. १ श्याशिलाका एक सय ३१, वडा नं. २ तिवारी भञ्याङका ७१, वडा नं. ३ च्याङ्ग्रेका एक सय छ, वडा नं. ४ बास्तिमका एक सय चार, वडा नं. ५ सोनादुम्का एक सय ३२ र वडा नं. ६ ठूलोदुम्माका एक सय ५५ परिवार गरी, छ सय ९९ परिवारले जस्तापाता छानो लाउन पाउनेछन् ।

