जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् ।
यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।
अहिले पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि स्कूले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।
उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु. ५५ लाख बजेटमा गत वर्ष उपभोक्ता समितिसँग सम्झौता भइ निर्माण शुरु भएको हो ।
चालु आ.व.को कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए ।
यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवत-जावत गर्ने सहज भएको स्थानीय बताउँछन् ।
एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरे । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु. ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिए ।

