२०८३, कार्तिक १२ गते बिहीबार

पोखराको हरिचोक-याम्दीखण्ड स्तरोन्नती अन्तिम चरणमा

पोखराको हरिचोक-याम्दीखण्ड स्तरोन्नती अन्तिम चरणमा


  • मेरोभ्यूज
  • मंसिर २५, २०८२ बिहीबार

  • पोखराको हरिचोक-याम्दीखण्ड स्तरोन्नती अन्तिम चरणमा

     

    कास्की । मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखराखण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् ।

    पाँचथरबाट शुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ ।

    कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

    यसखण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए ।

    उनका अनुसार यसखण्डको निर्माण सकिएपछि यात्रु सहजरुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।

    “हरिचोक–याम्दीखण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँ ।” इञ्जीनीयर सुवेदीले भने ।

    उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यसखण्डमा अब जम्माजम्मी दस प्रतिशत काम बाँकी छ ।

    वि.सं. २०७९ साउन १४ गते यसखण्डको ठेक्का सम्झौता भएको थियो ।

    मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.सँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो ।

    तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरणलगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।

    तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक वि.सं. २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यसखण्डको तेस्रो पटक थपिएको म्याद वि.सं. २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए ।

    “तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक-पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” इञ्जीनीयर सुवेदीले जानकारी दिए ।

    सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे ।

    मध्यपहाडीको हरिचोक–याम्दीखण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर-पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।


    प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार