२०८३, कार्तिक १२ गते बिहीबार

मालढुङ्गा–मिलनचोकखण्डमा कालोपत्र सम्पन्न

मालढुङ्गा–मिलनचोकखण्डमा कालोपत्र सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर २९, २०८२ सोमबार

  • मालढुङ्गा–मिलनचोकखण्डमा कालोपत्र सम्पन्न

     

    म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–मिलनचोकखण्डमा कालोपत्र भएको छ ।

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकअन्तर्गत मालढुङ्गा–मिलनचोक खण्डको नौ किलोमिटरमा अस्फाल्ट प्रविधिको कालोपत्र भएपछि आवागमन सहज हुनाका साथै यात्रा अवधि छोटिएको छ ।

    बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंका अनुसार १३ कि.मी. दूरीको उक्त सडकअन्तर्गत मिलनचोक–बेनी खण्डमा पनि कालोपत्रको तयारी भइरहेको छ ।

    यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन कि.मी. तीन सय मिटरमा कालोपत्र र दुई कि.मी. दुई सय मिटर ढलान भएको उनले जानकारी दिए ।

    लस्ती–बेनीखण्डको छ कि.मी. पाच सय मिटर सडक यही मंसिर र पहिलो सातादेखि कालोपत्र गर्न थालिएको छ ।

    लस्ती–केराबारी–मिलनचोकखण्डको काम शुक्रबार सम्पन्न भएको सूचना अधिकारी चापागाईंले बताए ।

    उनका अनुसार बारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक/एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।

    पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं. वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक दुई लेनको बनाएर कालोपत्र वि.सं. २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित वि.सं. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीसँग रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको आयोजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका सूचना अधिकारी चापागाईंले बताए ।

    जलजला–७ मिलनचोकका बासिन्दा जमुना आचार्यले सडक कालोपत्र भएपछि एक घण्टाको यात्रा अवधि २०–२५ मिनेटमा छोटिएको बताए ।

    सवारीसाधनको आवागमन सहज हुनाका साथै समयको पनि बचत भएको उनको भनाइ छ ।

    यो सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

    ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत वि.सं. २०५२ मा मार्ग खुलेको मालढुङ्गा–बेनी सडकअन्तर्गत बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो ।


    प्रकाशित : सोमबार, मंसिर २९ २०८२०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार