जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने तिला जलविद्युतको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु. सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जल विद्युत आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिए ।
तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घन मिटर प्रतिसेकेन्ड रहेको वातारणविद् भट्टको भनाइ छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उक्त योजनाको नाँप जाँच २०७८ सालमा स्विकृत भएको हो ।
आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्नजस्ता अनुकूल प्रभाव हुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पुग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
उत्पादन भएको विद्युतलाई एक सय ३२ केभी सिङ्गल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ ।
विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्वारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन् ।
आयोजनाको कुल लागत नेपाल सरकारको रु. सात अर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए ।
आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० कि.मि. लामो र एक सय ३२ के.भी. सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ ।
आयोजना निर्माण गर्नका लागि कुल ७ दशमलव पाच सय ८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा ४ दशमलव सात सय ७२ हेक्टर र निजी जग्गा २ दशमलव आठ सय १३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ ।
निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए ।
आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्षरूपमा प्रभावित हुने देखिन्छ । प्रत्यक्ष प्रभावित घरधुरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जल विद्युत् आयोजनाले जनाएको छ ।
तिला जलविद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

