काभ्रेपलाञ्चोक । निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्याइएको छ । यो सँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् ।
विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो ।
निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ ।
गत वर्षको असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनेपछि आयोजनाको मर्मत एवं पुन:निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
साथै सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याएर पाँचखाल–९ डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा पानी सङ्कलन गरी परीक्षण सकेर औपचारिकरूपमा लक्षित बस्तीसम्म वितरण गरिएको उनले जानकारी दिए ।
“थपिएकासमेत केही परिवारमा पानी पुर्याउन थप अनुसन्धान भइरहेको छ, आयोजना अन्तिम चरणमा पुगेकाले पुस दोस्रो सातासम्म पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ”, लामिछानेले भने ।
उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याई उपभोक्ताका घरमा पानी पठाइएको छ ।
उपभोक्ता समितिले गत वर्षको असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा तथा पर्खाल भत्काएको, ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु. एक करोड ७० लाख क्षति पुर्याएपछि योजना असफल भएको थियो ।
दातृ निकायसँगको समन्वयमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिकरूपमा उद्घाटन गर्न भने बाँकी रहेको जनाएको छ ।
आयोजनाको कार्य अन्तिम चरणमा पुगेसँगै प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी सहजरूपमा तान्न सकिने समितिका अध्यक्ष लामिछानेले जानकारी दिए ।
उनका अनुसार आयोजनाको लक्ष्यअनुसार लगातार वीस घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ ।
आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोशी नदी किनारमा छवटा इनार, चार/चार लाख लिटर क्षमताका दुईवटा पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, दसवटा नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ वटा पाले घर निर्माण सम्पन्न भएका छन् ।
त्यस्तै, पाँचवटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तार बार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ कि.मि. शाखा प्रसारण लाइनमध्ये ३५ कि.मि., दुई सय ३० कि.मि. वितरण पाइप लाइनमध्ये दुई सय २० कि.मि.को काम सम्पन्न भएको समितिले जनाएको छ । हाल कूल छ हजार ३७ धारा सञ्चालनमा आएका छन् ।
शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच वि.सं. २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नेगरी वि.सं. २०७७ असार १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्याएपछि लम्बिएको हो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको समितिका अध्यक्ष लामिछानेले जानकारी दिए ।
उनका अनुसार रु. एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार चार सय १५ जना नागरिक लाभान्वित भएका हुन् ।
दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव शून्य पाँच लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको हो ।
सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारसहित उपभोक्ताको पाँच प्रतिशत परिवारले प्रतिपरिवार रु. १८ हजारका दरले रकम बुझाएका हुन् । त्यस्तै, आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ विपन्न वर्गका उपभोक्ताले भने स्थानीय सहकारी संस्थाबाट ऋण लिइ खानेपानीका लागि रकम बुझाएका छन् ।

