२०८३, कार्तिक १२ गते बिहीबार

सुन्तला खेतीले भोजपुरका किसानको जीवनस्तर फेरिँदै

सुन्तला खेतीले भोजपुरका किसानको जीवनस्तर फेरिँदै


  • मेरोभ्यूज
  • माघ २३, २०८२ शुक्रबार

  • सुन्तला खेतीले भोजपुरका किसानको जीवनस्तर फेरिँदै


    भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ ।

    व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिकरूपमा सबल बन्दै गएका छन् ।

    सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।

    विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताए ।

    हाल २२ रोपनी क्षेत्रमा करिब दुई सयवटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आएका राईले वार्षिकरूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको छ ।

    “अहिले सुन्तलाको मुख्य सिजन हो,” उनले भने, “गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।”

    यस क्षेत्रका करिब एक सय वीस घरपरिवारले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् ।

    बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ ।

    सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ ।

    एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।

    सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए ।

    उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ ।

    वडाध्यक्ष राईले भने, “यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।”

    कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो ।

    भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार दुई सय ९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।


    प्रकाशित : शुक्रबार, माघ २३ २०८२१०:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार