तनहुँ । जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटीका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् ।
खेलमैदानमा विभिन्न बहानामा पटक-पटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
खेलमैदान नहुँदा दमौलीमा खेलकूदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकूद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।
पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका लागि नगरपालिकाले अनुमति दिएपछि युवाहरूले महोत्सव गर्न नदिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
नगरपालिकाको रु. ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनि पाइप राख्ने, प्याराफिट बनाउनेलगायत काम भए पनि मेला/महोत्सव आयोजना हुँदा खेलमैदान बिग्रने भुवन गोशलीले बताए ।
यहाँ मेला/महोत्सव सञ्चालन गर्ने सङ्घ/संस्थालाई वैकल्पिक ठाउँको खोजी गर्न आग्रह गरिएको उनको भनाइ छ ।
जिल्लास्थित विभिन्न युवा क्लबका तर्फबाट गोशलीले नगरप्रमुख न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते खेलमैदानमा महोत्सव गर्न लागिएकामा उक्त कार्य रोकी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए ।
उनले भने, “उक्त स्थानमा मेला/महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकूद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।”
नगरपालिकाका तर्फबाट खेलमैदानलाई स्तरोन्नती गर्न पटक-पटक गरी रु. ६० लाख लगानी गरिसकिएको जनाउँदै गोशलीले खेलमैदानमा महोत्सव गर्न रोक लगाउनु पर्नेमा जोड दिए ।
स्थानीय वासु सापकोटाले युवाहरू जागरुक भएर खेलमैदान संरक्षणमा एकजुट हुनुपर्ने बताए । आफ्नो पुस्ताले खेलमैदानको अभावमा खेलका गतिविधि सञ्चलन गर्न, खेल्न नपाएको बताउँदै मैदान संरक्षण नगरे अवको पुस्ताको अवस्था त्यस्तै हुने धारणा राखे ।
सोही कारणले खेलका गतिविधि नियमित गर्न र युवा खेलाडीका लागि अवसर सिर्जना गर्न खेलमैदान संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
स्थानीय सापकोटाले भने, “खेलमैदानलाई खेलमैदान मात्रै बनाइनुपर्छ, आज एउटा पक्षले दबाब दिएर महोत्सव गर्ला, भोली फेरि अर्को आउँला । अव खेलमैदानलाई राजनीति गर्ने ठाउँ बनाउन दिँदैनौँ ।”
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको जनाउँदै महोत्सवबाट प्राप्त हुने रकम खेलमैदानको स्तरोन्नतीमा खर्च गरिने जानकारी दिए । दुवै पक्षसँगको बैठक बसी सहमति निकाल्ने उनले जानकारी दिए ।
नगरप्रमुख न्यौपानेले भने, “मैदान नबिगार्ने सहमतिमा आयोजक पक्षले प्रतिबद्धता जनाएकाले अन्तिम पटकका लागि भनेर निर्णय गरेका हौँ । दुवै पक्ष बसेर सहमतिको निकास निकाल्नुपर्छ ।”
युवाको माग र भावनामा आफू पनि सहमत रहेको बताउँदै उनले मेला/महोत्सवले मैदान आसपासका सरकारी कार्यालयमा समेत असर पारेको स्वीकार गरे ।

