२०८३, कार्तिक ११ गते बुधबार

व्यावसायिकरूपमा बेसारखेती गर्दै महिला

व्यावसायिकरूपमा बेसारखेती गर्दै महिला


  • मेरोभ्यूज
  • फाल्गुण १६, २०८२ शनिबार

  • व्यावसायिकरूपमा बेसारखेती गर्दै महिला


    बैतडी । बैतडीका महिला व्यावसायिकरूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिकरूपमा बेसारखेती गर्न थालेका हुन् ।

    खाद्यबाली जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन् ।

    “बाँदरले अन्य बालीमा क्षति पुर्याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिकरूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भनिन् ।

    जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् ।

    घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिकरूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताइन् ।

    ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेतीसमेत गरिरहेको उनले जानकारी दिए ।

    सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ ।

    परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए ।

    बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ ।

    परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेतीसमेत गरिरहेको कार्यक्रम संयोजक भुपाल बोहराले जानकारी दिए ।

    “महिलाले राम्रै मेहनत गरिरहेको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छौँ”, उनले भने, “बेला-बेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छौँ र समाधान पनि खोज्छौँ ।”


    प्रकाशित : शनिबार, फाल्गुण १६ २०८२१०:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार