२०८३, कार्तिक ११ गते बुधबार

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ


  • मेरोभ्यूज
  • फाल्गुण २०, २०८२ बुधबार

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

     

    पर्वत । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ ।

    जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।

    बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायतका परिकार बनाउँदै आएको छ ।

    विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रु. ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।

    अहिले गाउँ गाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए ।

    पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन्, भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेकोसमेत भुसालले बताए ।

    जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ ।

    भुसालले सञ्चालन गरेको उद्योगमा आफू बाहेक सात जनालाई रोजगारी दिएको छ । लप्सीसँगै अमला, अदुवालगायतका परिकार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा रु. दस देखि १२ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।

    चार वर्ष पहिले उत्पादित लप्सीका दस लाख बराबरका परिकार अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहेपनि अहिले पठाउने संयन्त्र नरहेको बताए ।

    नेपालीहरुले विदेश फर्किदा कोशेली र पाहुँरको रुपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।

    जिल्लाका झण्डै ४० वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो ।

    वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती शुरु भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले किसानलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ ।

    उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानीलगायतको प्रशोधनसमेत हुँदै आएको छ । भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट लाखौँ रुपैया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए ।

    लप्सी, अमला र अदुवा यामको बेलामा प्रशोधन हुने भए पनि मकै, भटमास, बदामलगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।


    प्रकाशित : बुधबार, फाल्गुण २० २०८२१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार